गगन थापाले भने- त्यो दिन सभापतिज्यूले मानिदिएको भए....
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाबाट एउटा निर्णय हुन नसक्दा देशले आज नगन्य क्षति भोगेको बताएका छन् ।
उनले आज एक भिडियो सन्देश जारी गर्दै भदौ २३ गते साँझ देउवाले सरकारबाट बाहिरिने निर्णय गरिदिएको भएमात्र पनि आजको अवस्था अर्कै हुने दाबी गरे । सभापतिको कारण भदौ २४ को आन्दोलन थप उग्र बनेको र त्यसमा आफू पनि जिम्मेवार रहेको भन्दै थापाले माफीसमेत मागेका छन् ।
‘मैले पहिले पनि सभापतिज्यूलाई भन्दै आएको हुँ, तर भदौ २३ गते साँझसम्म जेजति भयो, त्यसपछि म दौडिएर सभापतिकोमा पुगेँ र तत्काल सरकारबाट बाहिरिएको घोषणा गर्न आग्रह गरेँ’, उक्त साँझ सम्झिदै उनले भनेका छन्, ‘गृहमन्त्रीलाई मैले तत्काल राजीनामा दिनुस् भनेपछि उहाँले दिनुभयो, तर सभापतिज्यूलाई मैले जुन आग्रह गरेको थिए, त्यो भएन, यदि त्यति गरिदिएको भएमात्रै पनि आजको अवस्था अर्कै हुन्थ्यो ।’
तीन शीर्ष नेता (देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड)ले राजनीतिबाट विश्राम लिनुपर्छ भन्ने युवाहरुको माग आफूले विगतका कयौँ वर्षदेखि उठाउँदै आएको पनि थापाले सुनाएका छन् । तर, केही स्वार्थ समूहले आफ्नो घर नै जलाउलान् भनेर कहिल्यै नसोचेको उनको भनाइ छ ।
‘मलाई लाग्छ सार्वजनिक सम्पति र निजी सम्पतिमाथि तोडफोड र लुटपाट गर्ने पक्कै पनि वास्तविक जेनजीहरुको चाहना थिएन, उद्धेश्य पनि होइन, तर १०/१२ जना मास्क लगाएर आएर, उनीहरुको पछाडि ठूलो हुल थियो’, भावुक हुँदै थापाले भनेका छन्, ‘मैले माथि सिसिक्यामेराबाट हेरिरहेको थिएँ, सुरुमा गाडीमा आगो लगाए, त्यसपछि घरमा सल्काए, म ती सहयोगीहरुप्रति साँच्चीकै ऋणी छु, जसले म, हिँड्न नसक्ने मेरी आमा र परिवारलाई वैकल्पिक मार्गबाट निकालेर आश्रय दिनुभयो ।’
उक्त दिन आमा रोएपछि आफू पनि धुरुधुरु रोएको महामन्त्री थापाले बताएका छन् । ‘त्यो मेरो कमाइले हालेको घर थिएन, ०४० सालदेखि मेरो बुबाआमाले एक एक रुपैयाँ गरेर जम्मा गरेको बनाएको घर थियो, आमा बेस्सरी रुनुभयो, मैले पनि थाम्न सकिनँ आशु, रोएँ’, उनले थपेका छन् ।
पूर्वमन्त्रीसमेत रहेका थापाले युवाहरुलाई संयमित र सजग भएर अबको नेतृत्व लिन पनि सुझाव दिएका छन् ।
टिप्पणीहरू