नेपाली समाजको को हो त शत्रु ?
एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा नवौं महाधिवेशनद्वारा मुख्य उपलब्धिका रूपमा पारित सैद्धान्तिक विचारधारालाई किनारा लगाउने काम भएको छ । उक्त महाधिवेशनमा शंकर पोखरेलले नेपाली समाज अझ पनि अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा छ, सामन्तवादका अवशेषहरू अझै पनि छन् भन्ने व्याख्या गरेका थिए ।
त्यसबखत घनश्याम भुषालले हामीले जनवादी क्रान्ति सम्पन्न गरिसक्यौं, अब समाजवादको आधार निर्माण गर्ने हो, यसनिम्ति राष्ट्रिय पुँजीको निर्माण गर्नुपर्छ । दलाल पुँजिवादले उत्पादन गर्दैन, यसले रोजगारी पनि सिर्जना गर्दैन र मुनाफा मात्रै कमाउँछ भनेका थिए, जसलाई नवौं महाधिवेशनले पारित गर्यो ।
त्यसबेला भुषालको लाइन मात्र पास भएन, शंकर पोखरेलकै पद अर्थात् उपमहासचिवमा चुनाव पनि जिते । त्यसको तुस अहिलेका महासचिव पोखरेलमा अझै पनि देखिएको बताइन्छ । किनभने विधान महाधिवेशनको प्रतिवेदन नवौं महाधिवेशनका मूलभूत कुरा उल्लेख गरिएन । हिजो केशरजंग रायमाझी नेपाल कम्युनिष्ट पार्टीको महासचिव हुँदाका सामान्य कुरा पनि प्रतिवेदनमा उल्लेख गर्ने तर नवौं महाधिवेशनद्वारा पारित कुरा उल्लेख गर्नेबित्तिकै त्यसको जस अर्कैले लिन सक्ने भएपछि त्यस कुरालाई पूरै विषयान्तर गरिएको कतिपयको गुनासो सुनिन्छ ।
नेपाली जनताको शत्रु को हो ? समाजको अन्तरविरोध कोसँग छ भन्ने कुरा जबसम्म यकिन गर्न सकिन्न, तबसम्म मुख्य लक्ष्य निर्धारण गर्न सकिँदैन । राजतन्त्रलाई मुख्य शत्रु मान्ने हो भने अहिले राजतन्त्र ढलेको पनि दुई दशक हुनै लाग्यो र हामी गणतन्त्रको अभ्यास गर्र्र्र्दैछौँ । तर, एमालेको व्याख्या भने समाज अझ पनि अर्धसामन्ती छ भन्नेमै केन्द्रित छ । नेपाली समाज कुन अवस्थामा छ भन्ने वैचारिक स्पष्टताको कुरा कम्युनिष्ट आन्दोलनका लागि निकै महत्वपूर्ण र सकारात्मक हुने गर्छ ।
(जनआस्था साप्ताहिकको भदौ २५ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू