मौका छोपेर समानान्तर सरकार घोषणा

मौका छोपेर समानान्तर सरकार घोषणा

देश संवैधानिक संकटमा परेको मौका पारेर अस्थिरताको खेति गर्नेहरू चल्मलाउन थालेका छन् । 

जेनजी आन्दोलनपछि धमिलो पानीमा माछा मार्नेहरु भित्रभित्र अनेक रुपमा प्रकट भैरहँदा एक समूहले भने खुलेआम समानान्तर सरकार घोषणा गरेको छ । जसलाई 'अरुणपूर्व-लिम्बुवान समानान्तर सरकार' नामकरण गरिएको छ । 

हस्तलिखित एक वक्तव्यमा सेना,परराष्ट्र र मुद्रा बाहेकको अधिकार प्रयोग गर्नेगरी संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा एक नीति दुई देश मान्यताअनुसार छुट्टै सरकार गठनको जानकारी गराइएको छ । मनिष हेल्लोकको नेतृत्वमा गठित समानान्तर सरकारमा दिल पालुङ्गवा परराष्ट्रमन्त्री तोकिएका छन् ।

प्रेम याथुङ्गा,तेन्छावा याक्थुङ्गा,ओहाङ्ग याक्थुङ्गा र किसन कार्कीलाई यक्सुवा विना विभागीय मन्त्री भनिएको छ । लिङ्देन मिसाम राष्ट्रपति घोषित भएका छन् । १८३१ साउन २२ गते तत्कालीन गोर्खा र कान्तिपुर नेपाल र लिम्बुवानबीच नुनपानी (तसक्ति लालमोहर) सन्धिको आधारमा लिम्बुवान राज्य अस्तित्वमा आएको जिकिरसमेत गरिएको छ ।  

'२०८२ साल भदौ २४ गते को जेन-जी आन्दोलनपछि मुलुकको परिस्थिति फेरिएको छ । यो घडीमा २०६४ साल चैत ६ गते तत्कालीन नेपाल सरकारको शान्तिमन्त्री रामचन्द्र पौडेल र लिम्बुवानबीच ५ बुँदे सहमति भएको छ', वक्तव्यमा भनिएको छ, 'हाल नेपालको राष्ट्रपति रामचन्द्र पौडेल रहनु भएको छ। यस परिस्थितिमा आजको मिति २०८२ भाद्र २६ गते अरुण-पूर्व लिम्बुवान समानान्तर सरकार घोषणा गर्दछौँ ।'

टिप्पणीहरू