जसले ज्यानै दाउमा राखेर चौकी जोगाए

जसले ज्यानै दाउमा राखेर चौकी जोगाए

भदौ २३ र २४ गते भएको जेनेरेशन जेड अर्थात् जेन–जी पुस्ताको हिंसात्मक आन्दोलनको निशानामा प्रहरीसमेत परे । जेन–जीले भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध भन्दै गरेको आन्दोलनमा कर्तव्य निर्वाहका क्रममा प्रहरीमाथि निर्मम आक्रमण भयो । 

आन्दोलनमा तीन प्रहरी कर्मचारीको हत्यासमेत भयो । उनीहरुलाई कुटीकुटी मारिएको हो । त्यतिबेला आन्दोलनकारीबाट ज्यान जोगाएर भाग्न प्रहरीका लागि सबैभन्दा ठूलो चुनौती रह्यो । लाउने लुगासमेत थुतेर फालेपछि अर्धनग्न अवस्थामा सडक,खोला र गल्लीबाट प्रहरीहरु भाग्न बाध्य भए । 

देशभरिका प्रहरी चौकी तथा भवनहरुमा आन्दोलनकारीले आगो सल्काए । यस्तो अवस्थामा ज्यान बचाउन प्रहरीहरुबीच भागदौड चलिरहँदा झापाका एक प्रहरीले भने आफ्नो ज्यानै दाउमा राखेर प्रहरी कार्यालय जोगाएका छन् । 

ती हुन्,इलाका प्रहरी कार्यालय, झिलझिलेका सहायक हवल्दार मनिश लिम्बु । भदौ २४ गते मुलुकभरका प्रहरी चौकी,कार्यालय तथा भवनमा आक्रमण हुन थालेपछि हेडक्वार्टरले कर्मचारीहरुलाई सुरक्षित ठाउँमा जान निर्देश गरेको थियो । 

सोहीअनुरुप प्रहरीहरु सुरक्षित स्थलतिर लागे । तर,सहायक हवल्दार लिम्बु भने कतै नगई एक्लै स्थानीयसँग समन्वय गरेर प्रहरी कार्यालय जोगाउन सफल भए । कार्यालयमा अन्तिमसम्म रहेर उनले बहादुरीका साथ गरेको यो कार्यको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ । 

एक जनाले लेखेका छन्, ‘कर्तव्य र निष्ठा लगाव भनेको यस्तो हुनुपर्छ, आखिर आशा,हिम्मत र विश्वासले आफ्नो कार्यस्थल र सरसामान सबै सकुशल रहन पायो । हर परिस्थितिलाई सामान्य गर्नसक्ने कला र खुबी नितान्त जरुरी हुन्छ । सलाम छ यस्तो कर्मठ र खुबीवान् देशभक्त प्रहरीलाई ।’

‘सम्मान छ उहाँलाई । संगठनले उहाँलाई सम्मान गर्नुपर्छ,’ अर्का एक जनाले भनेका छन् । ‘उहाँको साहस, कर्तव्यनिष्ठा र संगठनप्रतिको समर्पणलाई हृदयदेखि नै सम्मान प्रकट गर्दछौं । यस्ता वीर नै नेपाल प्रहरी संगठनको शान र गौरव हुन्,’ सामाजिक सञ्जालमै भेटिएको छ ।

टिप्पणीहरू