एमाले मुख्यालयमा आगो झोस्नमा प्रभु साहका छोरा पनि सँलग्न
जेनजी आन्दोलनको नाममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि तोडफोड र आगजनी गर्ने अराजक युवाहरुको पहिचान खुल्ने क्रम जारी छ ।
यसैबीच सिंहदरबारभित्र रहेको गृह मन्त्रालय र शहरी विकास मन्त्रालयको भवनमा आगजनी गर्नेहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताकाे संलग्नता रहेको पाइएको छ । सार्वजनिक फोटो तथा भिडियोका अनुसार यी दुई मन्त्रालयमा पुगेर सबैभन्दा पहिले तोडफोड गर्ने र आगो लगाउने रास्वपाका कार्यकर्ता हुन् ।
प्राप्त एउटा भिडियोमा केही युवा पार्टी सभापति रवि लामिछानको नाम लिँदै गृह मन्त्रालयभित्र छिरेर तोडफोड गरेको र त्यसपछि आगो लगाएको स्पष्ट देखिन्छ । त्यस्तै अर्को भिडियोमा पनि युवाहरुले ‘रवि लामिछानेमाथि प्रतिशोध साँध्नेहरुको हिसाबकिताब गरिन्छ, कसैलाई छाडिन्न’ भन्ने अराजक अभिव्यक्तिसहित शहरी विकास मन्त्रालयमा आगो लगाएकाे देखिएकाे छ ।
उता नेकपा (एमाले)को च्यासलस्थित केन्द्रीय कार्यालयमा आगो लगाउने युवामध्ये आम जनता पार्टी निकट रहेको खुलेको छ । सार्वजनिक भिडियोमा पार्टी अध्यक्ष प्रभु साहका छोरासहित केही युवा एमाले मुख्यालयमा आगो झोसेर बाहिर निस्किरहेको देखिन्छ । रौतहटका प्रभु पूर्व माओवादी,पछि एमाले र अहिले आम जनता पार्टीमा छन् ।
अहिले प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भएका फोटो तथा भिडियोको आधारमा त्यस्ता अपराधीहरुको पहिचान गरिरहेको छ । साथै, भदौ २३ र २४ गते खिचिएका सामाग्री उपलब्ध गराएर अनुसन्धानमा सहयोग गर्न प्रहरीले आमनागरिकलाई अपिल पनि गरेको छ ।
टिप्पणीहरू