करारका सुब्बा प्रधानमन्त्रीका हर्ताकर्ता
हिंसात्मक र ध्वंशात्मक आन्दोलनपछि गठित अन्तरिम सरकारले काम नथाल्दै सेटिङको गन्ध मात्रै आएको होइन,झलक नै देखिन थालेको छ । भूतपूर्व प्रधान न्यायाधीश सुशीला कार्की अस्ति राती अन्तरिम प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै उहाँको अघिपछि कोट लगाएर एक युवा दौडधुप गरेका देखिन्छन् ।
न राष्ट्रपति कार्यालय,न प्रधानमन्त्री कार्यालय न गृह वा अन्य कुनै मन्त्रालयको जिम्मेवारी -कहीं कतै नरहेका ती व्यक्ति को होलान् ? स्रोत भन्छ, ‘सर्वोच्च अदालतमा करारका नासु आदर्श श्रेष्ठ ।’ ती अस्ति अपरान्हदेखि कार्कीको अघिपछि देखिन थालेका हुन् ।
सर्वोच्चमा आइटी कर्मचारीका रुपमा करारमा नियुक्त उनले कम्प्युटरबाट पेशी सूचि निकाल्नेदेखि गोलाप्रथा गराउनेसम्मको आएका छन् । कहिलेकाँही प्रधानन्यायाधीश र मुख्य रजिष्ट्रारको आँखाको भाषा बुझेर मुद्दालाई एउटा इजलासबाट अर्कोमा सार्ने खेलमा पनि उनको विज्ञता रहने गरेको कर्मचारीहरु बताउँछन् ।
उनी २०६१ सालदेखि सर्वोच्चमा कार्यरत छन् । सबैजसो प्रधानन्यायाधीशको प्यारो भनिएका उनी प्रधानन्यायाधीशको बालुवाटार निवासबाट लाएअह्राएबमोजिम कज लिष्टमा फण्डा गर्न माहिर भएकाले पनि उनलाई रोजिने गरेको थियो । त्यसो त कार्की प्रधानन्यायाधीश हुँदाको बखत छँदै नभएको अधिकृत पद सिर्जना गरेर लाभ हासिल गरेको आरोप सहकर्मीहरुको छ । जबकी उनी सपोर्ट पर्सनको रुपमा भित्रिएका थिए ।
आजदेखि उनी कार्कीसँगै काम गर्ने भनेर प्रधानमन्त्री कार्यालय पुगेको गाईँगुईँ खरानी भएको सर्वोच्च र सिंहदरबार परिसरमा चलेको छ । बहुदलीय व्यवस्थाअन्तर्गत जनताबाट निर्वाचित सांसद र उनीहरुबाट निर्वाचित प्रधानमन्त्रीलाई फालेर सत्ताको जिम्मेवारी लिनुभएका कार्कीलाई विज्ञको रुपमा करारको सुब्बा बोकेर हिँड्नुपर्ने आवश्यकता किन पर्यो होला ?
टिप्पणीहरू