मन्त्री छान्न अझै सकस,शीतल निवासलाई ५ घण्टा

मन्त्री छान्न अझै सकस,शीतल निवासलाई ५ घण्टा

आगजनी,तोडफोड र हिंसापछिको त्रासयुक्त वातावरणबाट गुज्रिरहेको मुलुकमा आज पनि मन्त्रिमण्डल गठन हुन गाह्रो छ । जेन जी समूहमा देखिएको विवाद र विभाजन,विभिन्न स्वार्थ समूहको तानातानबीच प्रधानमन्त्री सुशीला कार्कीले आज आफ्नो पदभार ग्रहण र महान्यायाधिवक्तामा सविता भण्डारीलाई नियुक्ति दिलाउनुभएको छ ।

मन्त्रीका लागि असंख्य दाबेदार देखिएपछि गोलाप्रथा गर्नुपर्ने अवस्था आएको जेन जी स्रोतको दावी छ । सुदन गुरुङहरुको हाम्रो नेपाली एनजिओले परिवर्तनको स्वामित्व लिने तर आगलागी,तोडफोड र कतिपय हिंसाको जिम्मेवारी नलिने बताएपछि आज दिउँसो उनीमाथि नै पत्रकार सम्मेलनमा हातपातको प्रयास भएको छ । 

आजको घटनाका कारण उमेर नपुगेका,उमेर पुगेका तर राजकाजको कुनै मूल्य मान्यता थाहा नपाएका,माहौल बिगारेर आफ्नो स्वार्थ पूरा गर्न खोज्नेहरुका कारण जेन जी समूहको अस्तित्व र भूमिका एक सातामै खतराको डिलमा पुगेको अर्थ लगाउन थालिएको छ । यसबारे राष्ट्रपति र प्रधानमन्त्री कार्यालयमासमेत छलफल हुन थालेको स्रोतको दाबी छ ।

हिंसात्मक आन्दोलनका कारण हालसम्म ७२ जनाको ज्यान गएको पुष्टि भएको छ । आगजनीका भग्नावशेषहरुबाट लाश फेला पर्ने क्रम जारी छ । आज गुरुङको हामी नेपाल एनजिओले सीमित पीडित परिवारलाई बोकेर पत्रकार सम्मेलन गरेपछि आशंका चुलिएको छ ।

यता,मन्त्री नियुक्त हुन नसके पनि शीतल निवासमा मन्त्रीहरुको सपथ समारोह तयारीका लागि कम्तीमा पाँच घण्टाको अग्रिम सूचना दिनुपर्ने म्यासेज शीतल निवासको अतिथि सत्कार विभागले दिएको बताइन्छ । अस्ति राति प्रधानमन्त्रीको सपथ सानो कोठामा गरिएको तर मन्त्रिमण्डलको विस्तारपछि अबको कार्यक्रम शीतल निवास परिसरमा गर्नुपर्ने आवाज उठेको छ ।

टिप्पणीहरू