केपी ओलीको ‘ड्रिम प्रोजेक्ट’ निल्नु कि ओकल्नु

केपी ओलीको ‘ड्रिम प्रोजेक्ट’ निल्नु कि ओकल्नु

जेन जी आन्दोलनपछि बालुवाटारबाट सेनाको हेलिकोप्टर चढेर बेपत्ता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको एउट ड्रिम प्रोजेक्ट सिंहदरबारको खरानीमा घस्रेको अवस्थामा अघि बढेको छ । उक्त प्रोजेक्टका लागि भनेर विज्ञापन गरिएका डेढ दर्जन नयाँ कर्मचारीलाई हिजोदेखि नियुक्ति दिइएको छ ।

नेपाल टेलिभिजनमा अंग्रेजी भाषाको एन टिभी वर्ल्ड च्यानल सञ्चालन गर्न चालिएको कदममाथि हालैको आन्दोलनको राप र खरानी परेको बताइन्छ । मन्त्रालयले सुको बजेट नदिँदा पनि अघि बढाइएको उक्त प्रोजेक्ट औपचारिक रुपमा आगामी असोज १ गते पाँचतारे होटलमा विशेष कार्यक्रम गरेर शुभारम्भको योजना बनाइएको थियो । यसअघि गत माघ पहिलो साता पिएसबीको प्रिजेन्टेसन भनेर होटलमा गरिएको कार्यक्रममा छ लाख रुपैयाँ खर्च भएको टेलिभिजनका कर्मचारीहरु बताउँछन् ।

पछिल्लो समय आर्काइभ डिजिटाइजेनको नाममा आएको छ करोड रुपैयाँ एनटिभी वर्लडको सामान खरिदमा प्रयोग भएको हो । कन्टेन्ट फाइनल नभएको, स्टुडियो नबनेको अवस्थामा पनि असोज १ गतेको डेट फिक्स्ड गरिएकोमा कर्मचारीहरु नै अचम्भित भएका थिए । त्यहाँ कार्यरत कर्मचारी संघ, संगठनको विरोधबीच हिजो १८ जनाको नियुक्ति दिइएको बताइन्छ । व्यवस्थापनले ब्याक डेटमा नियुक्ति दिलाउन दबाब दिएपनि प्रशासनले नटेरेपछि हिजो दिइएको उनीहरुको दाबी छ ।

गत मंगलबारको तोडफोडपछि टेलिभिजनभित्र कुनै कुनै कर्मचारीले आफ्नो ४० हजारको अत्तर (परफ्युम) हराएको भन्दै बिलौना गरेका छन् भने कसैले निजी ल्यापटप हराएकाले त्यसको भरपूर्ताल मिलाइदिन व्यवस्थापनसमक्ष गुनासो गरेको अन्य कर्मचारीको दाबी छ ।

टिप्पणीहरू