एमाले नगर कमिटीका पदाधिकारीहरुको सामूहिक राजीनामा
नेकपा एमालेका आधा दर्जन नगर कमिटी पदाधिकारीले सामूहिक रूपमा पदत्याग गरेका छन् । सूर्यविनायक नगर कमिटीकी अध्यक्ष एलिशा कार्की, चाँगुनारायण नगर कमिटीका संयोजक रोजन खड्का, मध्यपुर थिमी नगर कमिटीका संयोजक रोशन कुटु, भक्तपुर नगर कमिटीका संयोजक रोजिना गोठे, भक्तपुर बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष विकल्प शर्मा र सानोठिमी क्याम्पस कमिटीका संयोजक निराजन थापाले राजीनामा दिएका हुन् ।
जेन–जीको ध्वंशात्मक आन्दोलनमा भएको ‘अनावश्यक हस्तक्षेप’प्रति आपत्ति जनाउँदै उनीहरूले आफ्नो नेतृत्वमा रहेको कमिटी विघटन भएको घोषणा गरेका छन् । विद्यार्थीको पक्षमा खडा हुनुपर्ने संगठनलाई पार्टी नेतृत्वले दमनको औंजार बनाउन खोजेको उनीहरूको आरोप छ ।

‘विद्यार्थीको पक्षमा खडा हुनुपर्ने संगठनलाई दमनको मतियार बनाउन खोजिएको र भक्तपुर जिल्ला कमिटीका अध्यक्षलगायत बहुमत सदस्यले कमिटीबाट राजीनामा दिइसकेको अवस्थामा हामी मौन बस्न सक्दैनौं,’ विज्ञप्तिमा उल्लेख छ, ‘हालको प्रधानमन्त्रीले नेतृत्व गरिरहेको पार्टीको जनवर्गीय संगठनको कुनै तहको नेतृत्वमा रहन हामीलाई नैतिक तथा सामाजिक जिम्मेवारीले नदिने भएकाले आजैबाट लागू हुनेगरी यो संयुक्त राजीनामा दिएका छौं ।’
त्यसैगरी, उनीहरूले युवा कुनै पार्टी, पद र कुर्सीको दास नभएको स्पष्ट पार्दै, दल नभई देश जोगाउन आवश्यक रहेको बताएका छन् ।
टिप्पणीहरू