सभापतिद्वारा धमाधम गाडी फिर्ता

सभापतिद्वारा धमाधम गाडी फिर्ता

प्रतिनिधिसभा विघटन भएसँगै संसदीय समितिका सभापतिहरूले गाडी र चालक फिर्ता गरेका छन् । 

राष्ट्रिय सभासहितको दुई संयुक्त समिति र प्रतिनिधिसभा अन्तर्गत १० गरी १२ वटा विषयगत समिति छन् । समितिका सभापतिहरुलाई एउटा गाडी र चालक उपलब्ध गराइएको थियो । तर, अब संसदनै नरहेको अवस्थामा सभापतिहरूले गाडी फिर्ता गर्न थालेका हुन् । 

शिक्षा समितिका सभापति अम्मरबहादुर थापा, अर्थ समितिका सभापति सन्तोष चालिले, पूर्वाधार विकास समितिका सभापति दिपबहादुर सिंह, महिला समितिका सभापति किरणकुमार साह, कृषि समितिकी सभापति कुसुम थापालगायतले सुविधा फिर्ता गरिसकेका छन् । त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति इश्वरीदेवी न्यौपाने, लेखा समितिका सभापति ऋषिकेश पोखरेल, संसदीय सुनुवाई समितिका सभापति रामहरि खतिवडालगायतले पनि गाडी फिर्ता गरेको बताइएको छ । 

विभिन्न पार्टीका संसदीय दलका प्रमुख सचेतक तथा सचेतकहरुले समेत गाडी फिर्ता गरेको बुझिएको छ । 

भदौ २३ र २४ गतेको विश्वंशकारी प्रदर्शनको क्रममा देशभर हजारौँ चार पाङग्रे र दुई पाङ्ग्रे सरकारी सवारी साधन खरानी भएका छन् । सिंहदरबारभित्र भित्र मात्रै साना तथा ठूला गरी झण्डै नाै सय सवारी साधनमा क्षति पुगेको अधिकारीहरुले बताएका छन् ।

टिप्पणीहरू