सिके राउतका दाजुभाइलाई २४ घण्टे अल्टिमेटम

सिके राउतका दाजुभाइलाई २४ घण्टे अल्टिमेटम

जनमत पार्टीका नेताहरुले अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतको राजीनामा मागेका छन् ।

पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खान र केन्द्रीय प्रवक्ता शरदसिंह यादवसहितका नेताहरुले एक पत्र लेख्दै अध्यक्ष सिके र संगठन विभाग प्रमुख जयकान्त राउतलाई पद छोड्न भनेका हुन् । चौविस घण्टाको अल्टिमेटमसहित राजीनामा मागिएका यी दुई सहोदर दाजुभाई हुन् । 

जेन-जी प्रदर्शनपछि उत्पन्न विषम परिस्थितिमा नेतृत्वले आत्मसमीक्षासहित मार्गप्रशस्त गर्नुपर्ने उनीहरुको तर्क छ ।

‘देशको राजनीतिक, सामाजिक तथा प्रशासनिक प्रणालीमा व्यापक शुद्धीकरणको आवश्यकता दिन प्रतिदिन तीव्र रूपमा महसुस भइरहेका बेला जनमत पार्टीले समेत आत्मसमीक्षा गर्दै परिवर्तनको मार्ग अपनाउनु अत्यावश्यक भइसकेको छ’, पत्रमा भनिएको छ, ‘पार्टीको जिम्मेवार पदाधिकारी भएको हैसियतले अध्यक्षज्यू र संगठन विभाग प्रमुखज्यूले २४ घण्टाभित्र आफ्नो पदबाट स्वेच्छिक राजीनामा दिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।’

जनताको भरोसा र समर्थनले पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता दिए पनि पछिल्लो समय शीर्ष नेतृत्वको कार्यशैलीको कारण गलत सन्देश प्रवाह भइरहेको उनीहरुको निष्कर्ष छ । 

पत्रमा पार्टी निकट जनमत युवा संघका केन्द्रीय संयोजक सञ्जयकुमार यादव, स्वास्थ्यकर्मी संघका केन्द्रीय संयोजक सिके सिंह, सूदुरपश्चिम इञ्चार्ज राजाराम चौधरी, राष्ट्रिय परिषद् सदस्य विक्रमबहादुर बम लगायतको पनि हस्ताक्षर छ ।

टिप्पणीहरू