अदालतमाथि छानीछानी आक्रमणका अन्तर्य

अदालतमाथि छानीछानी आक्रमणका अन्तर्य

जेन-जी आन्दोलनका नाममा भदौ २४ गते अराजक जत्थाले विध्वंस मच्चाउँदा राज्यका अन्य निकायले जस्तै न्यायालयले पनि अकल्पनीय क्षति व्यहोर्नुपरेको छ । न्यायको मन्दिरमाथि भएको हमलाले अर्बौंको भौतिक सम्पत्तिमा मात्र क्षति पुगेको छैन,हजारौँ-हजार मुद्दाका मिसिल खरानी भएका छन् ।  

सर्वोच्च अदालतसहित देशका विभिन्न अदालत,प्रधानन्यायाधीश र न्यायाधीशका निवास विध्वंशकारीको निशानामा परेको थियो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको बालुवाटारस्थित सरकारी निवास र निजी घर ध्वस्त भएको छ । आगजनी र हिंसात्मक गतिविधिबाट अदालतका भवन,सवारीसाधन, उपकरण र महत्वपूर्ण दस्तावेज जलेको सर्वोच्चले जनाएको छ । 

दु:खद पक्ष के भने इजलासमा रहेका न्यायाधीशहरूले भागेर ज्यान जोगाएका थिए । तत्कालीन प्रधानमन्त्री,मन्त्री र दलका नेतालाई हेलिकोप्टरबाट उद्धार गरी सुरक्षित ठाउँमा पुर्याएको नेपाली सेनाबाट अदालतमा आक्रमण हुन थाल्नासाथ न्यायमूर्तिहरूलाई अदालतपछाडिको बटालियनमा भित्री बाटोबाट लान थोरै ढिलाइ भएको थियो । 

स्रोतका अनुसार सिंहदरबारमा तोडफोड र आगजनी शुरु भएपछि सर्वोच्चका न्यायाधीशहरू आ-आफ्ना प्रहरी अङ्गरक्षकले हुटहुटी लगाएपछि भागेर अदालत पछाडि रहेको नेपाली सेनाको ब्यारेकमा ज्यान जोगाउन पुगेका थिए । उनीहरुलाई पिएसओले दौडाएर बाहिर निकालेका थिए । त्यसको ठीक १० मिनेटपछि सर्वोच्चमा आगो लागेको थियो ।

काठमाडौँ जिल्ला अदालतमा सहकारी ठगी मुद्दाका प्रतिवादी रवि लामिछाने,इच्छाराज तामाङ,भुटानी शरणार्थी काण्डका बालकृष्ण खाँण, टोपबहादुर रायमाझी, चैत १५ को राजावादी विध्वसंका प्रतिवादी दुर्गा प्रसाईको मुद्दाका फाइल राखिएका फाँटहरू नियोजितरूपमा ध्वस्त पारिएको छ ।

' मीनेटमात्र ढिला भएको भए ठूलो मानवीय क्षति हुने रहेछ', त्यसदिनको परिस्थिति स्मरण गर्दै एक न्यायाधीशले भने, 'हामी निस्किएको १० मीनेटपछि त अदालतमा आगो लगाइहाले नि !'

तीन दिन सैनिक ब्यारेकमा बसेका न्यायाधीशहरू शनिबारदेखि कार्यक्षेत्रमा फर्किसकेका छन् । तर, अहिले उनीहरुको मुकामबारे खुलाइएको छैन । प्रधानन्यायाधीशको बालुवाटारस्थित सरकारी निवासमा अहिले सरसफाई चलिरहेको बताइएको छ । 

सर्वोच्चले आइतबारबाट अदालत परिसरमै टेन्ट टाँगेर सेवा सुचारू गरिसकेको छ । तर,न्यायाधीशहरूले इजलासमा बस्दा लगाउने कोटसमेत जलेर खरानी भएको अवस्थामा पुरानै लयमा फर्किन भने अझै केही समय लाग्ने देखिन्छ  । 

यसबीच सर्वोच्चसहित देशभरका अदालतमा भएका क्षतिको लेखाजोखा गर्ने काम शुरु भएको छ । प्रारम्भिक विवरणअनुसार सर्वोच्चसहित काठमाडौँ जिल्ला अदालत,उच्च अदालत तुलसीपुरको बुटवल इजलास,जिल्ला अदालत रुपन्देहीमा तोडफोड,आगजनी र लुटपाट हुँदा ठूलो क्षति पुगेको छ । यसमा पनि सर्वोच्च र बुटवलको उच्च अदालत पूर्णरुपमा ध्वस्त भएको छ ।

काठमाडौँ जिल्ला अदालतमा सहकारी ठगी मुद्दाका प्रतिवादी रवि लामिछाने,इच्छाराज तामाङ,भुटानी शरणार्थी काण्डका बालकृष्ण खाँण, टोपबहादुर रायमाझी, चैत १५ को राजावादी विध्वसंका प्रतिवादी दुर्गा प्रसाईको मुद्दाका फाइल राखिएका फाँटहरू नियोजितरूपमा ध्वस्त पारिएको छ । 

विध्वंशकारीको एक समूहले रविलाई जेल पठाउन आदेश गर्ने न्यायाधीशलाई मार्ने प्रयाससमेत गरेको खुलेको छ । बुटवलको सुप्रिम सहकारीमा भएको रकम अपचलनसम्बन्धी मुद्दामा रविलाई छोड्न अस्वीकार गरेका न्यायाधीश नारायणप्रसाद सापकोटा  निशानामा परेका हुन् । 

स्रोतका अनुसार २४ गते दिउँसो भैरहवामा उनलाई चारैतिर खोजिएको थियो । आफू असुरक्षित रहेको सूचना पाएलगत्तै नेपाली सेनाको ब्यारेकमा पुगेका उनले लुकेर ज्यान जोगाएका थिए ।

टिप्पणीहरू