रविको पदचापमा भारतीय कैदीहरु बेपत्ता
गत भदौ २३ र २४ गते भएको जेन जी विध्वंसको फाइदा उठाएर मुलुकभरका कारागारबाट कैदीबन्दी भागेका छन्। सहकारी ठगीको अभियोगमा नख्खु कारागार चलान भएका रास्वपा सभापति रवि लामिछाने जेलबाट विजयोत्सवको भावमा बाहिर निस्किएपछि अन्य कारागारका कैदीबन्दीहरू पनि तोडफोड र आगजनी गर्दै फरार भएका थिए ।
देशभरका कारागारबाट भागेका झण्डै १४ हजार कैदीबन्दीमध्ये केही फर्किएका छन्। उता, महोत्तरीमा भने केही समूहले योजनाबद्ध रूपमा कैदीबन्दी भगाएका थिए। सदरमुकाममै रहेको जलेश्वर कारागारबाट पाँच सय ७५ जना भागेका छन्, जसमा पहिलो संविधान सभा सदस्य कौशलकुमार राय यादवसहित केही भारतीय नागरिक रहेका छन् ।
प्रशासनका अनुसार उनीहरू चार वटा ग्रिलगेट र ढोका फुटाएर भागेका हुन्। त्यस्तै, कारागारभित्रको पसलको सामान र नगद पनि लुटपाट गरिएको बताइन्छ। चार पांग्रे सवारी साधन र सीसीटीभी तोडफोड भएको छ। हालसम्म दुई सय जनाको हाराहारीमा कैदीबन्दी फर्किएका छन्। अन्य भारत प्रवेश गरिसकेको आशंका त्यहाँस्थित सुरक्षा संयन्त्रले गरेको छ।
स्रोतका अनुसार कौशलकुमारलाई भगाउन आफन्तसहित केही गाउँले कारागार पुगेका थिए । ‘उनीलाई भगाउन केही आफन्तसहित गाउँले आएका थिए। भारतीय कैदीबन्दीलाई उनीहरुकै आफन्तले भगाएका हुन्। भारतबाट मोटरसाइकल नै ल्याइएको थियो,’ स्रोतले भन्यो ।
महोत्तरीमा खासै विध्वंस नभए तापनि बर्दिबासमा सभासद् निर्जला राउत र निवर्तमान मन्त्री शरदसिंह भण्डारीको लगानीमा रहेको ‘होटल पावन मिथिला’मा तोडफोड र आगजनी गरिएको छ । मधेश प्रदेशका भौतिक योजनामन्त्री सरोज यादवको बर्दीबासकै गौरीडाँडास्थित घरमा पनि तोडफोड र आगजनी भएको छ।
त्यहाँका अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय, मालपोत, यातायातलगायतका भवनमा सामान्य क्षति भएको छ।
टिप्पणीहरू