ओली र लेखकमाथि कारबाही थाल्न शान्ति समाजको माग
मानव अधिकार तथा शान्ति समाजले भदौ २३ र २४ गतेको जेन–जी प्रदर्शनका क्रममा अन्धाधुन्ध गोली चलाएर निहत्था नागरिकको हत्यामा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक मुख्य दोषी रहेको भन्दै कारबाहीको माग गरेको छ ।
आज विज्ञप्ति जारी गर्दै समाजले दुबैउपर कानूनी कारबाही थाल्न र जनधनको अपार क्षति सम्बन्धमा उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग गरेको छ । साथै, राज्यका विभिन्न धरोहरसहित सार्वजनिक सम्पत्ति, प्रेस तथा नागरिकका निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्नमाथि पनि दण्डको माग गरिएको छ ।
‘स्मरणीय छ, आन्दोलनरत पक्ष स्वयंले घुसपैठका कारण त्यस्ता घटना घटेको बताइसकेको सन्दर्भमा त्यस्ता आपराधिक कृत्यमा संलग्नहरुको पहिचान र कारबाही हुन सकेन भने भविष्यमा सो प्रवृत्ति संस्थागत भएर जाने र बारम्बार राष्ट्र र समाजलाई पिरोल्ने खतरा रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
समाजले राज्यको ढुकुटी दोहन गर्दै पूर्व विशिष्टलाई उपलब्ध गराउँदै आएको सेवासुविधा तत्काल कटौती गर्न, ध्वस्त भएका संरचना पुनःनिर्माणका लागि सबै क्षेत्रबाट योगदान र पुनःनिर्माण मन्त्रालय बनाई आगामी दशकलाई पुनःनिर्माण दशक घोषणा गर्न, प्रहरीलगायत नागरिक प्रशासन तत्काल सुचारु गरी सेवा प्रवाह चुस्त दुरुस्त बनाउन पनि अनुरोध गरेको छ ।
यस्तै, विगतमा संवैधानिक, न्यायिक निकायमा राजनीतिक–दलीय भागबण्डाका नियुक्ति पाएकालाई मार्ग प्रशस्त वा पदमुक्त गराउन र स्वतन्त्र, निष्पक्ष र भयरहित तवरमा अन्तरिम सरकारले निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आग्रह गरिएको छ ।
टिप्पणीहरू