भाटभटेनीमा आगो, आफ्नै मुखमा दागबत्ती !
सिंहदरवारमा २०१४ साल भदौ महिनामा भैरहेको मन्त्रिपरिषदको बैठकमा दौरा सुरुवाल र कोट लगाएर सहभागी तत्कालिन शिक्षा तथा स्वायत्त मन्त्री महाकवि लक्ष्मीप्रसाद देवकोटालाई निकै नै गर्मी भएछ । उनले कोट खोलेर मेचमा झुण्ड्याए । बैठक सकियो । अरु मन्त्रीहरुसंगै उनी पनि आफ्नो मन्त्रालयको कार्यकक्षमा गए । काम सकेर बेलुका घर फर्कने बेला भएपछि सदाझैं कोट लगाउन खोजे त कोट तर गायब । यताउती हेरे, कतै छैन । सहयोगीलाई सोधे– ए भाइ, खोइ मेरो कोट ? उसले जवाफ दियो, क्याबिनेटमा जाँदा तपाइँ कोट लगाएर जानु भएको थियो । फर्कंदा नलगाई आउनुभयो । सहयोगीको कुरा सुनेपछि उनले सम्झिहाले र भने, ओहो धेरै गर्मी भएकाले कोट खोलें र मेचमा झुण्ड्याएर बसेको थिएँ । त्यहीं बिर्सिएछु । जाऊ जाऊ त्यति ल्याइदेऊ ।
निकै समय लगाएर शिक्षामन्त्रीको कार्यकक्षमा फर्किएको सहायकको हात रित्तै थियो । देवकोटाले सोधे– खोइ त मेरो कोट ? सहायकले जवाफ दियो– सबैतिर खोजी गरें, कहींकतै भेटिएन । त्यहाँको हाकिमले पनि कोटको खोजतलास गर्नुभयो तर पाइएन । देवकोटा त्यहीं धुरुधुरु रुन थाले । वरिपरि भएका कर्मचारी अक्क न बक्क बने । मन्त्री घुँक्कघुँक्क गरिरहेछन् । निकै समयपछि एउटा कर्मचारीले मुख फोर्यो– मन्त्रीज्यू, एउटा कोट हरायो त हरायो, के रुनु भएको ? नयाँ कोट किन्न तपाइँलाई गाह्रो छ र सक्नुहुन्न भने बरु हामी कर्मचारी मिलेर कोट किनी ल्याइदिन्छौं ! उसका कुरा सुनेपछि आफ्ना ठूलाठूला आँखा पल्टाउँदै देवकोटाले दिक्क भावमा भने, ‘तिमीले ठान्यौ म लोभले रोएको हुँ तर मूर्ख निजामती हो, कुरो त्यसो होइन । मेरो भक्कानो फुटेको कारण यो देशमा क्याबिनेटबाट मन्त्रीको कोट त चोरी हुन्छ भने यो देशका कर्मचारीहरुले जनताका के कुरा बाँकी राख्लान् ? म रुनुको कारण यो हो !
पुर्पुरोमा हात
गएको शुक्रवार युट्युबमा कसैले पोष्ट गरेको क्लिपमा एउटा परिपक्व उमेरको ब्यक्ति पुर्पुरोमा हात राखेर रोइरहेको थियो । क्याप्सनमा लेखिएको थियो, भाटभटेनी डिपार्टमेन्टल स्टोरका मालिक मीनबहादुर गुरुंग ! निकैबेर त्यो तस्वीर र व्याकग्राउण्डमा ह्वारह्वार जलिरहेको भाटभटेनी स्टोर हेरिरहें । सिंहदरवार, सर्वोच्च अदालत, राष्ट्रपति भवन शीतलनिवास, संघीय संसद भवन नयाँ बानेश्वर र देशभर लगाइएको आगजनी हेरिरहें । मनमा अनेक कुरा आउने–जाने गरिरहे ।
ओहो, भाटभटेनीजस्ता उद्यमीहरुले स्थापना गरेका संरचनाहरुलाई जलाइयो । विश्वस्तरका डिपार्टमेन्टल स्टोरहरुको स्थापना गरेर भाटभटेनीले नेपालका धनी, गरीव र श्रमिकहरु सबैका निम्ति एउटा उन्नत प्रणाली र बजारको अवधारणामा क्रान्ति ल्याउने काम गरेको थियो, त्यसैमाथि भ्रष्टाचारमुक्त विकसित समाज स्थापना गरेर सुशासन, समृद्धि र सामाजिक, आर्थिक, न्यायिक समाज सिर्जना गर्ने भनेर लागेका जेन्जीहरुको आन्दोलनले स्वाहा पारिदियो । यसलाई कसरी हेर्ने ? कसरी विश्लेषण गर्ने ? दोषीलाई कसरी कानुनको दायरामा ल्याएर दण्डित गर्ने र देशमा कानुनीराज कायम गर्ने ?
मीनबहादुरकोे यात्रा
मीनबहादुर गुरुंगबारे कहींकतै पढेको थिएँ, उच्च शिक्षाको लागि खोटांग जिल्लाको सुदूर गाउँबाट राजधानी प्रवेश गर्दा बाबुआमाले दिएको चार सय रुपैयाँ बोकेर ऊ काठमाडौं आएको थियो । यो केटोले साँझ बिहान पढेर, दिउँसो यताउति काम गरेर अन्तमा नेपाल बैंकमा सामान्य जागिर पाएको थियो । त्यहाँ अधिकृतसम्म बनेपछि श्रीमतीले खोलेको सानो खुद्रा पसलमा बैंकको जागिर छाडेर सघाउन थाल्यो । उसले त्यसै पसललाई छेउमा रहेको भाटभटेनी मन्दिरको पवित्र नाउँ दिएर डिपार्टमेन्टल स्टोरको नाउँमा व्यापार विस्तार गर्न लाग्यो । भनिन्छ, देशभर खुलिसकेका ३२ भाटभटेनी डिपार्टमेन्टल स्टोर थिए र तीमध्येकै एक, बहुचर्चित भाटभटेनी डिपार्टमेन्टल स्टोरको माउ स्टोर नक्साल भाटभटेनी स्टोर हो । जसलाई जेन्जी आन्दोलनकारीले लुटपाट गरेपछि आगो लगाएर खरानीमा परिणत गरिदिएका छन् । नक्सालबाहेक अन्य एक्काइस स्टोरहरुमा पनि फिरंगीहरुले झैं लुटपाट गरेर आगो लगाएर जलाइयो । मीनबहादुर रोइरहेको तस्वीर आगो दन्दनाइरहेका अनेक स्टोरहरुमध्येको एउटा स्टोरको ब्याकग्राउण्डमा पारेर राखिएको हुनुपर्छ । मीनबहादुरले खसालेको बलिन्द्रधारा आँशुको मूल्य कति ? देवकोटाले घुँक्कघुँक्क गर्दै बगाएको
आँशुको मूल्य कति ?
खबरदार ! मास्न र नास्न हुँदैन, मीनबहादुरहरुलाई । उद्यम, व्यवसाय र ब्यापारको दुनियाँमा देशभर थुप्रै मीनबहादुरहरुलाई जन्माउनु पर्छ । चम्काउनु पर्छ । भ्रष्टाचारविरोधी क्रान्ति सुशासनका लागि हुनुपर्छ । देशमा उपभोक्ताहरुले उपभोग गर्ने सामाग्रीहरुको प्रवन्ध गरिदिने व्यवसायीको सख्त आवश्यकता छ । हामी जे किन्छौं, भाटभटेनी, बिगमार्टहरुलाई तत्काल जति पैसा तिर्छौं त्यसवापत राज्यलाई कर तिर्छौं र त्यो तिरेको बिल पनि तत्कालै पाउँछौं । धनी, गरीव र श्रमिक सबैले करमार्फत देश विकासमा सहभागिता जनाइरहेका हुन्छौं ।
सभ्य समाज, सभ्य बजार
जसरी जेन्जी भ्रष्टाचारमुक्त समाज, सभ्य समाज, विकसित समाज, सामाजिक र आर्थिक न्यायको कुरा उठाइरहेको छ त्यस्तैगरी उन्नत वितरण प्रणाली र बजार अवधारणामा क्रान्ति ल्याउने कामको सहयोगी हो मीनबहादुर, बाधक होइन ! नेपाल बैंकको जागीर छाडे । उपभोक्तालाई उपभोग्य सामाग्रीहरु त्यसमा पनि घरायसी प्रयोजनका अत्यावश्यक सामाग्रीहरुको उपलब्धता एउटै बजार, घर, केन्द्रबाट उपलब्ध गराउने अभियानमा जुटे । उनी यही काम राजधानी र देशका प्रमुख शहरहरुमा आफ्नै जमीन र भवन बनाएर सेवा प्रदान गरिरहेका छन् । जहाँ भाटभटेनी छ, त्यहाँ शहर छ अथवा जहाँ भाटभटेनी खुल्छ त्यहाँ शहरको विस्तार हुन्छ । यो कुरा जेन्जीहरुलाई बताइराख्न पनि पर्दैन । उनीहरु नै भाटभटेनी विस्तारको साक्षी हुन् । उनीहरुले यो अभियान आफैंले नदेखेका र नबुझेका होइनन् !जेन्जीहरुले बुझ्नै पर्ने सत्य के हो भने उनीहरुलाई इन्टरनेट, सामाजिक सञ्जाल चाहिन्छ । टेलिफोन, बिजुली पनि चाहिन्छ । विहान उठेदेखि नसुतेसम्म चाहिने अत्यावश्यक खाना, नाना र इलेक्ट्रोनिक सरसामाग्री भाटभटेनीले एकै ठाउँबाट उपलब्ध गराउँछ ।
व्यवसायमा क्रान्ति
मीनबहादुरले गरिरहेको व्यवसाय बजार विकासको क्षेत्रमा ठूलो क्रान्ति हो । जो उसको आँट, साहस, मेहनत, तपस्या, लगानी र उत्साहले मात्र संभव भएको हो । त्यसैले भाटभटेनीलाई लुट्ने र जलाउने होइन, ७ सय ५३ पालिका, सतहत्तरै जिल्लामा भाटभटेनी डिपार्टमेन्टल स्टोरहरु खोलेर सम्पूर्ण नेपालीलाई अटुट रुपमा उपभोग्य वस्तुहरु उपलब्ध गराउने सुन्दर सपना देखेको मीनबहादुरको भाटभटेनी आफैंमा एक नवीन सार्वजनिक सम्पदा हो । तपाइँ हामी जो विदेश पुगेको छ उसले घुम्दै गर्दा चेन होटलहरु, ग्रोसरी, रेष्टुरेन्ट, डिपार्टमेन्टल स्टोरहरु अनेक नाउँमा देख्छौं नि हो, त्यहींको जस्तो सुविधा र उपलब्धता मीनबहादुरले नेपालमा शुरुवात गरेको हो । मीनबहादुर यसक्षेत्रमा विदेशीलाई विस्थापित गर्न सफल हुँदै गयो । जति राष्ट्रिय उद्यमी सफल हुँदै जान्छ दलाल, बिचौलिया, अपराधी, डन, माफिया, तस्कर, लुटेरा, ठग नटबरलालहरु त्रसित हुँदै इश्र्याले जलिरहेका हुन्छन् । मौका कुरेर बस्छन् । अबोध बालबालिकाको क्रान्तिमा लुट मच्चाइहाल्छन् ।
अहिले जति भाटभटेनी स्टोरहरु खुलेका छन्, नेपालका स्थानीय पालिकामा कम्तिमा ७ सय २४ वटा थप चाहिएको छ । यो सिर्जनात्मक, नवीन र हरेक खरिदमा बील दिने र हरेक खरिदमा जनताले कर तिरेको जानकारी बिलमै दिने पद्धतिबाट सञ्चालित छ । यस्ता डिपार्टमेन्टल स्टोरहरुमा दिनको कति व्यापार होला र त्यसले राज्यलाई कति कर तिर्छ होला ? हिसाब गरौं !
आत्मदाह
अहिले भाटभटेनीको गोदामसम्ममा लुटपाट गरेर आगो लगाइएको छ । वास्तवमा यो हामी उपभोक्ता सबैको तपाइँको, मेरो र छिमेकीको भान्छा, बिस्तरा, बैठक कोठामा लगाइएको आगो हो । हाम्रो कम्प्युटर, टिभी, ल्यापटप, मोबाइलमा लगाइएको आगो हो । त्यसैले भाटभटेनीमा आगो लगाउनु भनेको सामाजिक सञ्जाल चलाउनेहरुको हातमा, खाने मुखमा, कपडा लगाउने शरीरमा लगाइएको आगो हो । यो आफैंले आफैंमाथि लगाएको आगो हो, आत्मदाह हो ।
भाटभटेनीले रोजगारी दिएका कति जना छन् ? आर्थिक कारणले पढ्न नसकेका युवायुवतीलाई बिहान बेलुका काम दिएर कति हजारलाई यसले पढाएको छ ? तिनका आश्रितहरुको संख्या कति होला ? भाटभटेनीले अचार, सेल, तरकारी, लाखमरी, फुरुन्दाना, फलफूल, खाद्यान्न, माछा, मासु, कुखुरा, हस्तकला, फर्निचर लगायतका सामान विक्री गर्ने अवसर दिएर, सामान किनी दिएर देशभरका कतिजना किसान, मजदुर, साना मझौला र घरेलु उद्यमीलाई लाभान्वित गरिरहेको होला ? सुन्नमा आयो, पूर्व सांसद तथा कमलरी शान्ता चौधरीले दांगमा बनाएको अचारको भुक्तानी लिन बाँकी नै तीस–पैंतीस लाख थियो रे । उनले दुखेसो गरेकी रहिछन्, दसैं–तिहारका लागि चालिस पचास लाखको अचार बनाउन ग्रामीण महिलाहरुलाई लगाएकी थिइन् रे । अब भाटभटेनी जल्यो, त्यो अचार कहाँ बेच्ने ? त्यो अचार बिक्रीको आम्दानीबाट दशैं तिहार मनाउने योजना बनाएकाहरुले अब के गर्ने ? तिनको उद्यमी बन्ने सपनामा भाटभटेनीमा आगो लगाएर बाल्टिनबाट चिसो पानी खन्याए झैं भएको छ । सामान लगेर बिक्री गर्न राख्ने प्लेटफर्म नै जलेर खरानी भएको छ । त्यसैले भाटभटेनीमा आगो, आफ्नै मुखमा राँको मात्रै हो र ? दागबत्ती नै हो !
भाटभटेनीमा लागेको राँकोको समाजशास्त्रीय विश्लेषण बुझ्न एक प्राध्यापकलाई कुरा कोट्याएको मात्र के थिएँ, उनले जंगिदै पो भने– मुलुकको यत्रो शान्ति सुरक्षाको जिम्मा दिने जनपद, सशस्त्र, राष्ट्रिय अनुसन्धानका प्रमुखहरुको राजीनामा आयो ? के मुख्य सचिव, सचिव र प्रमुख प्रशासकहरुको राजीनामा आयो ? यिनीहरुलाई बर्खास्तै गर्नुपर्ने हो कि देश जलिरहँदा यिनीहरुलाई आगलागी भत्ता टक््रयाउने ? उनी रिसले मुर्मुरिए । समाजशास्त्रीय कुरा पछि गरौंला भनेर फोन नै काटे ।
दशैं तिहार छठ राष्ट्रिय पर्व भएकाले हरेकको घर मझेरीसम्म पुग्ने गर्छ । तर भाटभटेनी गरेको लुटपाट र आगजनीले सबैलाई लुटेको मात्र छैन, जलाएको पनि छ । भाटभटेनीमा लागेको आगो र लुटपाटले त्यहाँ कार्यरत हजारौं कामदारको जीवनमा पनि लुटपाट र आगजनी भएको छ । तिनीहरु पनि चाडपर्वको मुखमा नराम्ररी लुटिएका र जलेका छन् । दशैंमा पेस्की आउँछ, बोनस आउँछ भनेर रातदिन लागिपरेका तिनको सपनामा आगो लागेको छ । ती भाटभटेनी खरानी भैसक्दा पनि ह्वारह्वार्ती बलिरहेका छन् । डढिरहेका छन् । तिनको आर्तनाद चित्कार बनेको छ ।
सवैभन्दा विष्मयकारी कुरा के भने दशैं, तिहारको शुभकामना विज्ञापन ल्याउँला र कामदार कर्मचारी पत्रकारलाई तलब बोनस दिउँला भनेर कुरिरहेका अनलाइन, टिभी, पत्रपत्रिकाहरुको आशामाथि पनि लुटपाट र आगजनी भएको छ । त्यसैगरी चन्दा दिएर अस्पताल, स्कूल, पाटी पौवा बनाइदिने, स्कूल कलेजको शुल्क तिरिदिने, असहाय वालबृद्धलाई सहयोग गर्ने मीनबहादुरलाई नै सहयोग माग्ने अवस्थामा लुटपाट र आगजनीले पुर्याइदिएको छ ।
भाटभटेनी मात्र होइन, अरु पनि धेरै सम्पदाहरु लुटपाट, तोडफोड र आगजनीमा परेका छन् । यो लुटपाट चैत्र पन्ध्रको तीनकुने घटनामा भएको लुटपाटको विस्तारित रुप हो । त्यो बेला कोटेश्वरको भाटभटेनी र तीनकुनेका पसल र घरहरु लुटिएका थिए, अहिले देशैभरि त्यो फैलिएको छ । यो देश र जनताको लागि अपुरणीय क्षति हो । जसको सम्पत्ति लुटिएको र आगजनीमा परेको छ, यो उसको मात्र क्षति किमार्र्थ होइन ।
जुनकुरा सधैं चाहिन्छ, सबैलाई चाहिन्छ त्यसमा क्षति पुर्याउनु भनेको राष्ट्रकै क्षति हो । त्यसैले जति आक्रोश भए पनि आफूले आफैंलाई जलाउने काम नगरौं । यो भनेको आफ्नो घर खेताला लगाएर जलाउनु जस्तै हो । यदि यस्तो हो भने गम्भीर सवाल उत्पन्न भएको छ, के हाम्रो समाज समृद्धि देखिनसहने मानसिकता भएको समाज हो ? के गर्न हुने र के गर्न नहुने भन्ने नबुझेको समाज हो ? हो भने पनि सबैले बुझिराख्दा हुन्छ, कानूनी दायरालाई बलियो, फराकिलो र प्रभावकारी बनाउन सकियो भने अपराधीसे अपराधीको सम्पत्ति पनि कसैले जलाउनै पर्दैन । आगलागी त झन् गर्नै पदैन । दोषीलाई दण्ड दिएपछि त्यो स्वतः राष्ट्रिय सम्पत्ति बन्छ । त्यसैले कानूनीराज अर्थात विधिको शासन स्थापित गर्न लागौं !
(जनआस्था साप्ताहिकको असाेज १ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू