चुनावी सरकारको बाध्यता बुझिदिन प्रधानमन्त्रीको आग्रह

चुनावी सरकारको बाध्यता बुझिदिन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री सुशीला कार्कीले संवैधानिक प्रक्रियाबाटै संविधान संशोधनको वातावरण बनाउन आग्रह गर्नुभएको छ । 

जेन-जी पुस्ताले मागिरहेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको सन्दर्भमा उहाँको यो भनाइ आएको हो । आज देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले आफू नेतृत्वको सरकार चुनाव गराउने म्याण्डेडसहित गठन भएकाले संविधान संशोधन गर्न नसक्ने उल्लेख गर्नुभयो ।  

आगामी प्रतिनिधिसभाको निर्वाचनमा उत्साहका साथ सहभागी भएर विवेकपूर्ण ढंगले मतदान गर्न पनि उहाँले अपील गर्नुभयो । प्रधानमन्त्री कार्कीले जेनजी प्रदर्शनको क्रममा घटेको घटनामा दोषी देखिएका व्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याइने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको छ । 

घटनाको छानविन गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेर काम थालिएको जानकारी दिदै उहाँले दोषीले कुनै पनि हालतमा उन्मुक्ति नपाउने स्पष्ट पार्नुभयो । विभिन्न भ्रष्टाचारको काण्डमाथि अध्ययन र अनुसन्धान पनि शुरु भैसकेको प्रधानमन्त्रीको भनाइ छ । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा भेटिएको भनिएको पैसालाई लक्षित गर्दै भन्नुभयो, 'प्रदर्शनको क्रममा क्षति भएका र देखा परेका अवैध सम्पतिमाथि छानविन गर्न पनि सम्बद्ध निकायहरुसँग सरकारले छलफल गरिरहेको छ ।' 

सेवा प्रवाहमा कुनै कर्मचारीले रुखो व्यवहार गरे, घुस मागे वा विभिन्न बाहनाबाजीमा झन्झन सिर्जना गरे तत्काल सरकारले उपलब्ध गराएको नम्बरमा खबर गर्न पनि प्रधानमन्त्रीको आग्रह छ । 

आउँदै गरेको विजयादशमीको शुभकामना दिदै उहाँले विगतमा भए गरेका आन्दोलनको उपलब्धिलाई रक्षा गर्दै उत्साहसाथ निर्वाचनमा भाग लिन दोहोर्याएर आग्रह गर्नुभयो ।

टिप्पणीहरू