पुनर्निर्माण कोषमा पत्रकारको एक लाख
जेनजी विध्वंशका क्रममा क्षति पुगेका भौतिक संरचना पुनर्निर्माणका निम्ति पोल्याण्डमा रहेका एक पत्रकारले आर्थिक सहयोग गरेका छन् । सञ्चारकर्मी शेरबहादुर परियारले सरकारद्धारा खडा गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक लाख रुपैयाँ जम्मा गरेका हुन् ।
गत भदौ २३ गतेको प्रदर्शनमा १९ जनाले ज्यान गुमाएपछि भोलिपल्ट देशभर विध्वंश मच्चिंदा ठूलो मात्रामा भौतिक क्षेति भएको छ । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, शीतल निवास, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सयौं सरकारी कार्यालय खरानीमा परिणत भएका छन् ।
ती संरचना पुनर्निर्माणका लागि अन्तरिम सरकारले पुनर्निर्माण कोष खडा गरेको छ । उक्त कोषमा देश-विदेशबाट सहयोग जुटिरहेको अवस्थामा पोल्याण्डलाई आफ्नो कर्मभूमि बनाएका सञ्चारकर्मी परियारले पनि एक लाख रुपैयाँ प्रदान गरेका हुन् । पत्रकार महासंघ, युरोप शाखाका महासचिवसमेत रहेका उनी भन्छन्,‘देश रोएको यो बेला हामीले नगरे कसले गर्ने ?’ उनले अरुलाई पनि सहयोगका निम्ति अपिल गरेका छन् ।
परियारले यसअघि राष्ट्रिय विपत्तिको समयमा पनि सहयोग उपलब्ध गराएका थिए । कोभिड–१९ का बेला नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिले श्रमजीवी पत्रकारहरूलाई राहतका लागि बनाएको पत्रकार कल्याण कोषमा उनले एक लाख ११ हजार १११ रूपैयाँ प्रदान गरेका हुन् ।
टिप्पणीहरू