माओवादीले नेपोटिजम हटाउने, जेन-जीलाई प्राथमिकता

माओवादीले नेपोटिजम हटाउने, जेन-जीलाई प्राथमिकता

नेकपा माओवादी केन्द्रले पार्टीभित्र परिवारवाद (नेपोटिजम) हटाउन कार्यविधि बनाएर छानविन गर्ने भएको छ । 

केन्द्रीय कमिटीको भर्खर सम्पन्न बैठकले यो निर्णय गरेको हो । बैठकले संस्कार, कार्यशैली र चालचलन सम्बन्धी नयाँ नीति बनाउने निर्णय पनि गरेको छ । 

बैठकले केन्द्रीय कमिटीलाई आयोजक कमिटीमा रुपान्तरण गर्दै विशेष महाधिवेशनमा जाने प्रचण्डको प्रस्ताव पारित गरेको छ । आयोजक कमिटीको संयोजक प्रचण्ड नै रहने छन् भने पदाधिकारीहरू आयोजक समितिको सचिवालयमा रुपान्तरित भएका छन् । 

जेन-जी पुस्तालाई पार्टीको सबै कमिटीमा अधिकतम सहभागी गराउने र समय सापेक्षित मागलाई प्राथमिकतामा राख्ने बैठकको अर्को निर्णय छ । आईटी कामलाई उच्च प्राथमिकतामा राख्ने जनाइएको छ । 

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले राखेको फरक मतलाई महाधिवेशनमार्फत् टुंगो लगाउने पनि बैठकको निर्णय छ । त्यस्तै, विचार मिल्ने पार्टीहरुसँग एकताको प्रक्रिया अघि बढाउने भनिएको छ । 

यस्ता छन् निर्णयहरूः 
१. केन्द्रीय समिति प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समितिमा रूपान्तरण। पदाधिकारी नै आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने। महाधिवेशन मंसिरमा गर्ने। 
२. पार्टीभित्रका नेता-कार्यकर्ताको सम्पत्ति छानविन गर्न शक्तिशाली आयोग गठन गर्ने। 

३. नेपोटिज्मबारे कार्यविधि बनाएर नेताका पारिवारिक सदस्यहरूका बारेमा निर्णय लिने। संस्कार, कार्यशैली र चालचलन सम्बन्धी नीति बनाउने। 
४. जेन-जीलाई पार्टीका सबै समितिमा अधिकतम सहभागी गर्ने। युवाहरूलाई प्राथमिकता दिने। 
५. आइटीको कामलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने। 
६. अध्यक्ष प्रचण्डको प्रस्ताव पारित, वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले राखेको प्रस्तावलाई त्यसमै समेट्ने। महाधिवेशनसम्म छलफल गर्दै जाने।
७ . विभिन्न बिचार मिल्ने पार्टीहरूसँग एकता गर्ने।

टिप्पणीहरू