चीन फर्कनेलाई विमानस्थलमा हायलकायल
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको बाछिटा विदेशी पाहुनामाथि पर्न थालेको छ । नवगठित अन्तरिम सरकारमाथि लागेको पश्चिमा शक्ति राष्ट्र र फ्रि टिबेट मुभमेन्ट पक्षधरको आरोपसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओहोरदोहोर गर्ने विदेशी पाहुना विशेषगरी चिनियाँ पर्यटकले पछिल्लो समय बेग्लै अवस्था महसुस गर्नुलाई ‘बाघ कराउनु र बाख्रा हराउनु’सँग जोडेर हेरिएको छ ।
हिजो बिहान काठमाडौंबाट चीनको सिचुआन प्रान्तको राजधानी छन्तु हुँदै सिचुआन एअरलाइन्सको उडानमा स्वदेश जान लागेका चिनियाँ यात्रुलाई ब्यागेज परीक्षणको नाममा बेग्लै व्यवहार गरिएपछि तिनले आफ्ना नेपाली मित्रसँग गुनासो गरेकी हुन् । पछिल्लो डेढ वर्षमा पटक पटक नेपाल आइसकेकी उनले हिजो बिहान त्रिभुवन विमानस्थलमा जस्तो असहज अवस्था पहिले कहिल्यै नभोगेको सन्देश उनका ती साथीले पाएका हुन् ।
लिन्डा नामक तीलगायत अधिकांश चिनियाँ यात्रुलाई हिजो बिहान चेक इन बीतर्फ भित्रको स्क्यानरमा पुरै ब्यागेज खोल्न लगाइएको थियो । स्क्यानपछि पनि निश्चित समूहका यात्रुको ब्यागेज खोल्न लगाइएको घटनाले उनी आहत बनेकी हुन् ।
चिनियाँ यात्रुले अन्तर्राष्ट्रिय यात्रामा अनावश्यक दुःख दिइएकोबारे कडा प्रतिवाद गरेपछि सुरक्षाकर्मीहरुले अन्जानमा गल्ती भएको हुनसक्ने भन्दै आफ्नो कमजोरीको ढाकछोप गरेका थिए । तर, माथिल्लो तलाको अध्यागमन र सुरक्षा जाँचमा भने तल्लो तलामा जस्तो समस्या नदेखिएको उनले जानकारी गराएकी छन् ।
आफ्ना मित्रलाई लेखेको लामो वी च्याट सन्देशको पुछारमा उल्लेख छ, ‘गत वर्ष म नेपाल आउँदा यहाँको आतिथ्य निकै लोभलाग्दो थियो । विमानस्थलको सेवा पनि छिटो, छरितो थियो । आशा छ, मित्रराष्ट्र नेपालको समृद्धिको मार्ग यथासक्य छिटो पहिले झैँ कायम हुनेछ ।’
टिप्पणीहरू