टुँडिखेलमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ

टुँडिखेलमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ

दसैंको सातौं दिन अर्थात् फूलपातीका अवसरमा आज राजधानीको सैनिक मञ्च टुँडिखेलमा परम्परागत विधिअनुसार फूलपाती बढाइँ गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा सेनाले शंखघोषसहित राइफलबाट लहरे–एकट्ठा र तोप सलामी दिएको थियो। दुर्गा नाच, सैनिक परेड, हेलिकप्टर र ड्रोनमार्फत ब्यानर प्रदर्शन तथा पुष्पवृष्टिले समारोहलाई भव्य बनाइएको थियो। सो अवसरमा दुर्गा बन्दना पनि प्रस्तुत गरियो।

गोरखाबाट ल्याइएको फूलपाती हनुमानढोका दसैंघरमा भित्र्याएपछि टुँडिखेलमा बढाइँ गर्ने परम्परा छ। यस वर्ष पनि सेनाले धर्म, संस्कृति र परम्पराको निरन्तरता दिने यो मौलिक कार्यक्रम उल्लासपूर्वक सम्पन्न गरेको हो।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिगण र कूटनीतिक नियोगका प्रतिनिधिसमेत सहभागी थिए।

सैनिक मञ्च वरपर हजारौँ नागरिकले फूलपाती बढाइँको भव्यता अवलोकन गरेका थिए।

टिप्पणीहरू