अर्को देशमा पनि संसद विघटन
अफ्रिकी देश मेडागास्करमा सँसद विघटन भएको छ । तीन दिनअघि शुरु भएको युवा प्रदर्शन चर्किदै गएपछि त्यहाँका राष्ट्रपति एन्ड्री राजोएलिनाले हिजो संसद विघटन भएको घोषणा गरेका हुन् ।
खानेपानी र विद्युत आपूर्तिको माग गर्दै युवाहरुले प्रदर्शन थालेकोमा प्रहरीको गोली लागेर २२ जनाको मृत्यु र डेढ सयभन्दा बढी घाइते भएका छन् । प्रदर्शन थप चर्किदै गएपछि राष्ट्रपति राजोएलिनाले हिजो सरकारी टेलिभिजन 'तेलेविजिओना मेडागास्कर'मार्फत देशवासीलाई सम्बोधन गर्दै तीन दिनभित्र नयाँ सरकार गठनको लागि आह्वान गरेका हुन् । राष्ट्रपति राजोएलिनाले माफी माग्दै भनेका छन्, 'सरकारका सदस्यहरुले तोकिएको कार्य पुरा गर्न सकेनन्, त्यसको लागि हामी गल्ती स्वीकार गर्दै माफी चाहन्छौँ।'
हालै नेपाल र केन्यामा भएको जेनजी प्रदर्शनबाट प्रभावित भएर त्यहाँका युवाहरु पनि प्रदर्शनमा उत्रिएको बताइएको छ । प्रदर्शनका क्रममा युवाहरुले नेपाललाई अस्थिर देशको रुपमा चित्रण गर्दै 'त्यस्तै बनाउने' चेतावनी दिएको भिडियोमा सुन्न सकिन्छ । यसअघि नेपालमा पनि जेनजी प्रदर्शनअघि बंगलादेश बनाउने भाष्य स्थापित गरिएको थियो । प्रर्दशनपछि अहिले सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको अवस्था छ ।
टिप्पणीहरू