एउटै सामानको मूल्यमा आठ सयको अन्तर

एउटै सामानको मूल्यमा आठ सयको अन्तर

एउटै सामानमा आठ सय रुपैयाँको फरक भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। तर, भाटभटेनी सुपरमार्केट र बिगमार्टमा बिक्रीका लागि राखिएको सामानमा आकाशपातालको मूल्य फरक भेटिएको छ। एउटै कम्पनीले उत्पादन गरेको, उही परिमाणको सामानमा झण्डै आठ सय रुपैयाँ तलमाथि भएको पाइएको छ।

१७० ग्रामको नेस्क्याफे गोल्डमा मात्रै ७५७ रुपैयाँको फरक देखिन्छ। दुवै सामान एउटै कम्पनीले उत्पादन गरेका हुन्। बिगमार्टमा यसको मूल्य एक हजार ८८० रुपैयाँ उल्लेख गरिएको छ भने भाटभटेनीमा एक हजार १२३ रुपैयाँ ८९ पैसा मात्र रहेको एकजना उपभोक्ताले सामाजिक सञ्जालमा लेखेका छन् ।

मीनभवनका उपभोक्ता निर्मल कार्कीले आफ्नो फेसबुक पेजमा सामान र बिलको तस्बिर सेयर गर्दै प्रश्न उठाएका छन्— ‘सेम कम्पनी, सेम ब्रान्ड, सेम क्वान्टिटी, सामान दुवै सक्कली छन्। बिगमार्टको मूल्य रु. १,८८० र भाटभटेनीको मूल्य रु. १,१२३।८९। मैले मार्केटिङ नबुझेको हो कि उपभोक्तालाई लुटेको नबुझेको ?’

सामाजिक सञ्जाल प्रयोगकर्ता अशोक बुढाथोकीले उनको स्टाटसमा कमेन्ट गर्दै लेखेका छन्— ‘बिगमार्टमा हरेक कुरा अत्यधिक महँगो छ।’ त्यस्तै, रामकाजी खाइँजुले भने— ‘सरकारले मूल्य निर्धारण नगर्दा व्यवसायीहरूले मनलाग्दी मूल्य लिएका छन्। आफूले बेच्ने सामानको मूल्य तोक्न विक्रेता स्वतन्त्र छ भन्ने प्रमाण हो यो।’

उपभोक्ता गुलाब चौधरीले भने बिगमार्टमाथि तत्काल कारबाहीको माग गरेका छन्। उनी भन्छन्— ‘यो बिगमार्टको बिग लुट हो। उपभोक्ता ऐन अनुसार तत्काल कारबाही हुनुपर्छ, अगाडि जिल्ला प्रशासन कार्यालयको जो मर्जी।’

टिप्पणीहरू