आईजिपी अर्यालको आँखा छलेर...

आईजिपी अर्यालको आँखा छलेर...

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमाक्षेत्रमा लामो समय बसेका घुमुवामध्ये पूर्वकालाई पश्चिम र पश्चिमकालाई पूर्व काज खटाएकोमा ती अन्ततः पूरानै ठाउँमा फिर्ता भएका छन् । लामो समय कृष्णनगर भन्सारमा रहेर पर्वतको कुश्मास्थित चण्डीका गणमा पठाइएका हवल्दार मणिराम यादवलाई केन्द्रीय काज गराएर झिकाइएको छ भने छानबिनमा हेडक्वार्टर तानिएर अर्घाखाँची पुर्याइएका हवल्दार टीका दर्लामीलाई लुम्बिनीकै बाहिनीमा ल्याइएको छ ।

सशस्त्र प्रहरी बलमा सूचना संकलन र विशेष जिम्मेवारीप्राप्त इन्टेलिजेन्स ब्यूरो महानिरीक्षकको सचिवालयअन्तर्गत परिचालित छ । त्यस अतिरिक्त स्थानीय स्तरका सूचना संकलन र अग्रिम तयारीका लागि भनेर छुट्टै टोली खटाउने गरेको पाइन्छ । यिनीहरूले नै घुमुवा खटाउन नपाइने निर्देशन उल्लङ्घन गर्दै आएका छन् ।

यी दुई घुमुवाले केही दिन पहिले कृष्णनगर सीमानाकास्थित भारतीय बजारको राधामाधव कपडा पसलमा गएर शान्ता, मोटी र पातली भनी चिनिने बिन्दु के.सी.सँग भेटघाट गरेपछि उनीहरूले दैनिक दुई सय थान रेडिमेड कपडा अटो तथा मालबाहक ट्रकमा लुकाएर दाङसम्म लैजाने गरेका छन् । केही महिनाअगाडि भारतीय रासायनिक मल युरिया बहादुरगञ्जसम्म ल्याएर नेपाली बोरामा प्याकिङ गरी दाङलगायत ठाउँका व्यापारीलाई बिक्री वितरण गर्दै गर्दा कृष्णनगर सशस्त्र प्रहरीका डिएसपीले छापा मारे । लफडा मच्चियो र उनलाई बहादुरगञ्जका टाइगर र सुरज नामक नामुद तस्करले डाँडा कटाए । कपडा र टाइगरले युरिया मल कृष्णनगर भन्सारदेखि पूर्वतर्फ बगही खोलाको तीरबाट दिनभरि बहादुरगञ्जस्थित आफ्नै घरमा गोदाम गरी रात परेपछि रुद्रपुरको जयअम्बे र पशुपति प्लाइ उद्योगमा लाने गरेको सुराक छ ।

पाँच वर्ष पहिले हालका डिआइजी दीपक अधिकारी कपिलवस्तुमा गणपति हुँदा यी दुई प्लाइ उद्योगबाट ६६ मेट्रिक टन मल छापा हानेर भन्सारलाई बुझाइएको थियो । अहिले यस्ता कारोबारीसँग मणिराम र टीका दर्लामीको उठबस छ । कृष्णनगर नाकाबाट काम गर्नेहरूमा दिनेश काजु, किस्मिस काले, किराना पप्पु, चिनी मोटी, शान्ता बिन्दु छन् भने नेपालबाट भारततर्फ तरकारी तस्करी करिम मुसलमानले गर्दछन् ।

तर त्रिवेणीधाम बिओपीका हवल्दार मीनराज शाहीको ६ नम्बर गणमा दरबन्दी परेको दुई वर्ष बढी भयो तर एउटै बेसमा बसेर घुमुवाको काम गरिरहेका छन् भने उनीसँगै नवलपरासीमा लामो समय घुमुवा बसी चण्डीका गण लखेटिएका सहायक हवल्दार उग्रधोबी नम्बर ३१ गुल्म पूर्वी नवलपुर काज आएर त्रिवेणीधाम बिओपीमा घुमिरहेको जानकारी प्राप्त भएको छ ।

नम्बर २७ गण रुपन्देही, २६ नम्बर गण नवलपरासीमा लामो समय बसेर पर्वत पु¥याइएका पप्पु गुप्ता त्यहाँबाट कञ्चनपुरको महेन्द्रनगर गएका थिए भने केही समयपछि बढुवा दिलाएर बर्दघाटस्थित युक्ति तालिम महाविद्यालय ल्याइएका छन् ।

शैलेन्द्र खनालको पालामा रुपन्देहीमा चर्चित पात्र हुन् सुरेश यादव । किशोर प्रधान लुम्बिनी प्रदेशको डिआइजी हुँदा बर्खास्तीमा परेपछि शैलेन्द्रका भाइ भुवन खनालमार्फत जागिर जोडिएर प्युठान पठाइएका थिए । तर केही समयमै नवलपरासीको गणमा फिर्ता भए । उनी कपिलवस्तुको गणमा दरबन्दी पारेर अहिले महाराजगञ्ज बेसमार्फत घुमुवामा खटिएका छन् । उनलाई डिएसपी तुलसीराम पाण्डेले खटाएको बुझिएको छ ।

उता बाँकेमा केही महिना पहिले पैसा माग्दै गरेको अडियो रेकर्डसहितको समाचार बाहिर आएपछि हेडक्वार्टर तानिएपश्चात् ‘म अब घुमुवा बस्दिन’ भनी ल्याप्चे छाप लगाएर फिर्ता भएका असई सोमराज शर्मा र वरिष्ठ हवल्दार विश्वसिंह चौधरी पुनः बाँके बर्दिया हेर्ने गरी खटिएका छन् । सुदूरपश्चिमको कैलाली र डोटी लखेटिएका असईहरू तिर्थ भाट र सन्तोष शर्मा पुरानै ठाउँमा सरुवा मिलाएर आउन सफल भएका छन् । सुदूरपश्चिम प्रदेश प्रमुख प्रदीप पाल कर्णाली प्रदेशको सुर्खेतमा रहँदा असई तिर्थ भाट समशेरगञ्जको हाइवे सुरक्षा बेस कचनापुरमा खटिएर अगैयादेखि पश्चिमतर्फका पाँचवटा खोलाबाट ढुवानी हुने गिट्टी–बालुवाको लाइन मिलाई सोह्र महिनासम्म इञ्चार्ज बसेको सुइँको हेडक्वार्टरसम्म पुगेपछि रातारात गणमा तानिए पनि अहिले रिजर्भ गण समशेरगञ्जकै घुमुवा बसेको बताइन्छ। 

यता ३० नम्बर गण बाँकेका गणपति शोभाकान्त खनालले त झन् पुराना घुमुवा असई सन्तोष शर्मालाई कारागार सुरक्षा बेस बाँके पठाएर निलम्बित सिपाही रामसुन्दर थारुलाई समेत काम लगाइरहेको खबर छ । लामो समय अत्तरियास्थित वैधनाथ नम्बर सात बाहिनीमा घुमुवा रहेका सई लोकेन्द्रबहादुर चन्दलाई डोटी पठाइएको थियो ।

हाल केन्द्रीय काज सरुवामा रही इन्टेलिजेन्स ब्यूरोको सुदूर पश्चिम प्रदेश प्रमुख भएर गएका छन् । लामो समय सुदूरपश्चिम प्रदेशमा खटिएर डोटीकै गणमा पठाइएका सहायक हवल्दार भुवनबहादुर बोहोरा पनि काज सरुवा निकालेर इन्टेलिजेन्स ब्यूरोको सुदूरपश्चिम प्रदेशमै पुगेका छन् । बैतडी दरबन्दी रहेका उनी यसअघि झलारीस्थित नम्बर ३५ शैलेश्वरी गणमा काज सरुवा भएका थिए ।

टिप्पणीहरू