सिम्थली डाँडामा सुनौलो स्वर्ग (फोटोफिचर)
काभ्रेपलाञ्चोकको भुम्लुस्थित सिम्थली डाँडामा बिहानै उभिँदा प्रकृतिले दिएको उपहार आँखाअगाडि झुल्किन्छ। आकाश खुलेपछि टाढासम्म देखिने हिमालका सेता श्रृङ्खलामा जब सुनौलो घामको पहिलो किरण पर्छ । त्यो दृश्यले जो–कोहीलाई मन्त्रमुग्ध बनाउँछ।
हिमालको शीरमा पग्लिँदै गरेको चाँदीजस्तो हिउँ र वरिपरि हरियालीले ढाकिएका पहाडहरूले सिम्थलीलाई स्वर्गीय चित्रझैँ सजाउँछन्। बिहानै डाँडाबाट टाढा–टाढासम्म हेर्दा ठोकर्पा, साँगाचोकलगायतका गाउँ एकैसाथ देखिन्छन्। उज्यालो हुँदै गरेका गाउँहरूको जीवन्तता, टल्किएका धर्के छानाहरू र धुवाँ उडिरहेका भान्साघरहरूले गाउँको आत्मा अनुभूत गराउँछन्।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण सिम्थली अझ धेरैको नजरमा पर्न सकेको छैन। तर स्थानीयहरू भन्छन्, ‘यो ठाउँलाई व्यवस्थित रूपमा प्रचार–प्रसार गर्न सकियो भने आन्तरिक मात्र होइन, वाह्य पर्यटकसमेत आकर्षित गर्न सकिन्छ।’
सिम्थली डाँडा केवल दृश्यावलोकनको गन्तव्य मात्र होइन, प्रकृतिसँग नजिकिने र जीवनलाई शान्त बनाउन सकिने स्थल पनि हो। बिहानको पारिलो घामसँगै चम्किएका हिमाल, हरियालीको बीचमा लुकेका गाउँ र खुला आकाशको विशालता—यी सबै अनुभवले यहाँ पुगेकालाई जीवनभर सम्झनामा रहिरहने बनाउँछन्।
पर्यटकीय पूर्वाधार विकास गर्न सकियो भने सिम्थलीले नेपालकै महत्वपूर्ण दृश्यावलोकन गन्तव्य बन्ने सम्भावना बोकेको छ।
तस्बिरहरु








टिप्पणीहरू