आज सिद्धिदात्रीको आराधना, भोलि विजया दशमी
नौ दिन लामो दुर्गा पूजाको साधना आज सिद्धिदात्री देवीको विशेष आराधनासँग सम्पन्न हुँदैछ । नवरात्रको अन्तिम दिन मानिने आश्विन शुक्ल नवमीका अवसरमा घर–घरका पूजाकोठादेखि शक्तिपीठसम्म भक्तजनले नौ दुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको पूजाआराधना गर्दै छन् ।
सिद्धिदात्री देवीलाई मोक्षदायिनी र मनोकामना पूर्ण गर्ने शक्ति स्वरूप मानिन्छ । यिनलाई सिद्धिदायिनी भनेर पनि चिनिन्छ, जसको स्मरण मात्रले कष्ट निवारण हुने धार्मिक विश्वास छ ।
नवरात्रको पहिलो दिन घटस्थापना गरी शैलपुत्रीको पूजा आरम्भ भएको यो क्रम आज नवौँ देवीसम्म आइपुगेको हो । यस अवधिमा प्रत्येक दिन क्रमशः ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि र महागौरीको पूजाआराधना भइसकेको छ ।
नवरात्रका नौ दिन देवीको आराधनासँगै दुर्गा सप्तशती, देवीभागवत र देवी स्तोत्रको पाठ गरेपछि शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने मान्यता छ ।
आज महानवमीका दिन शक्तिपीठहरूमा भक्तजनको विशेष घुइँचो लाग्छ । घर घरमा बलीसहित देवीको आराधना गरेर आजको दिनलाई विशेष रूपमा मनाइन्छ । भोलि विजया दशमीका दिन देवी विसर्जन पश्चात् जमरा र प्रसाद लगाइन्छ । यो क्रममा आगामी सोमबार पूर्णिमाको दिनसम्म हुन्छ ।
टिप्पणीहरू