राहदानी रोक्काप्रति कांग्रेसको आपत्ति
विघटित प्रतिनिधिसभाको पहिलो दल नेपाली कांग्रेसले दण्डहीनतालाई प्रोत्साहन गर्दै प्रतिशोधको राजनीति नगर्न सरकारलाई सचेत गराएको छ ।
जेनजी प्रदर्शनमा भएको दमन र हिंसात्मक घटना छानविन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको छानविन आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको राहदानी रोक्का गर्ने निर्णय गरेको सन्दर्भमा काँग्रेसको यो प्रतिक्रिया आएको हो । भदौ २३–२४ गते भएको हिंसा, तोडफोड, लुटपाट र आगजनीका घटनामा संलग्नलाई उन्मुक्ति दिएर दण्डहीनतालाई प्रोत्साहन नगर्न सरकारलाई चेतावनीसमेत दिएको छ।
कांग्रेस केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तिमा शान्तिपूर्ण प्रदर्शनको आवरणमा नियोजित रुपमा अपराधिक समूहहरूले देशव्यापी आतंक मच्चाएको र राजनीतिक दल तथा नेताहरूमाथि लक्षित आक्रमण गरेको उल्लेख छ ।
तत्कालीन प्रम र गृहमन्त्रीको राहदानी रोक्का गर्ने सरकारले तोडफोडमा संलग्नलाई कारवाही नगर्न प्रहरीलाई निर्देशन दिएकोमा आपति जनाएको छ । गृह मन्त्रालयले असोज ९ गते जारी गरेको विज्ञप्ति र त्यसको आधारमा जारी परिपत्रले प्रमाणित अपराधीहरूलाई कानूनी कारबाही नगरी उन्मुक्ति दिने संकेत गरेको विज्ञप्तिमा जनाइएको छ ।
यस्ता कदमले संविधानवाद, कानूनी शासन र विधिको शासनको धज्जी उडाएको जिकिर गर्दै कांग्रेसले अन्तरिम सरकारलाई त्यसो नगर्न भनेको छ । दण्डहीनतालाई प्रोत्साहन गर्ने नीतिबाट पछि हटेर घटनाको निष्पक्ष छानबिन सुनिश्चित गर्न र प्रतिशोधमूलक राजनीति नगर्न उसको आग्रह छ ।

टिप्पणीहरू