विपदका कारण ३ दिनमा २४ को मृत्यु, ११ जना वेपत्ता

विपदका कारण ३ दिनमा २४ को मृत्यु, ११ जना वेपत्ता

शुक्रवार रातीदेखि परेका अविरल वर्षाका कारण आएको प्राकृतिक विपद्का कारण २४ जनाको ज्यान गएको छ ।

आज बिहानसम्मको तथ्यांकअनुसार ज्यान गुमाउनेको संख्या २४ पुगेको हो । जसमध्ये इलाममा मात्रै २० जनाको मृत्यु भएको छ । रौतहटमा तीन र उदयपुरमा १ जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेश प्रसाद भट्टले जानकारी दिए । 

उदयपुरमा २२ जना सवार हाइस दुर्घटना भएको थियो । उक्त गाडी जबरजस्ती खोलामा हाल्ने क्रममा दुर्घटना भएको हो । गाडीमा सवार २२ मध्ये २१ जनाको उद्धार भएपनि खोलाले बगाउँदा एक जनाको ज्यान गएको कार्यकारी प्रमुख भट्टले बताए । 

इलाममा घाइतेको उद्दारका लागि इटहरीबाट नेपाली सेनाको हेलिकोप्टर पठाईएको छ । उदयपुरको गिरेबी खोलामा केही मानिस डुबानमा फसेकाले उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । समस्या आएका ठाउँमा सुरक्षा निकाय, स्थानीय स्वयंसेवकहरु परिचालन गरेको कार्यकारी प्रमुख भट्टले बताए ।
 
प्राधिकरणका अनुसार देशका विभिन्न ठाउँमा ११ जना अझै बेपत्ता छन् ।

टिप्पणीहरू