आगजनीमा रमिता, जीवित देवीको बेवास्ता
भदौ २३ र २४ गते जेन जीको नाममा मच्चाइएको विध्वंशमा ऐतिहासिक सिंहदरबार जलेर खरानी हुँदा रमिते बनेको आरोप सेलाउन नपाउँदै काठमाडौं महानगरपालिकाका मेयर बालेन साह पुनः अर्को विवादमा तानिएका छन् । महानगरको वडा नम्बर २०, भीमसेनस्थानस्थित मन्दिर जल्न थालेपछि दमकल नपठाएकोमा पनि उनको चर्को विरोध भइरहेको छ ।
असोज १३ गते, फूलपातीका दिन, भीमसेनस्थान नजिकै इलाछेँ बिच्छेबहालमा आगलागी भएको थियो । स्वर्गीय पूर्वप्रधानन्यायाधीश धनेन्द्रबहादुर सिंहको घरबाट सुरु भएको आगलागीले ठूलो क्षति पुर्यायो । भाडामा दिइएको सो घर कपडा गोदामका रूपमा प्रयोग भएको थियो तर विद्युत् सर्टपछि सर्वत्र आगो फैलियो । त्यसक्रममा घरमा रहेको ग्यास सिलिन्डर बिस्फोट हुँदा आगो अझै भीषण बनेको हो ।
आगलागीमा छ वटा घर र एउटा पौराणिक मन्दिर खरानी बनेको छ तर मानवीय क्षति भने भएको छैन । ललितपुर महानगरपालिका र नेपाली सेनाको दमकल घटनास्थल पुगे पनि मुश्किलले दुई सय मीटर नजिकै रहेको काठमाडौं महानगरको दमकल आगो नभेपछि पुगेको स्थानीयको आरोप छ ।
एक स्थानीयले भने, ‘बिहानीपख आगो लाग्ने बितिक्कै ३ बजे नै महानगरलाई फोन गरेका थियौं, तर दमकल पौने ५ बजेमात्र आयो । बेलैमा आएको भए यत्रो क्षति हुने थिएन । मन्दिर पनि खरानी भएको छ ।’
जलेको मन्दिर ‘प्रधानहरुको आगं छें (आगमघर)’ हो । नेवार समुदायले अत्यधिक आस्था राख्ने उक्त मन्दिर जलेपछि, काठमाडौंवासीले तीन वर्षअघि विश्वास गरेको स्थानीय तहको नेतृत्व रमिते बनेको आरोप बालेनमाथि थपिएको हो ।
काठमाडौं महानगरसँग आठवटा दमकल भए पनि पाँचवटा मात्र सञ्चालनमा छन् । यता, ड्रोनसहितको अत्याधुनिक उपकरणसमेत रहेकामा महानगर त्यति नजिकै पनि किन ढिलो पुग्यो ? भन्ने गम्भीर प्रश्न उठेको छ ।
आगलागीपछि मेयर बालेनले घटनास्थलमा पुग्नेसम्म चासो नदेखाएको स्थानीयको आरोप छ । एक स्थानीयले भने, ‘समयमै दमकल पठाउन नसके पनि सान्त्वना दिन आउन सक्थे । तर अहिलेसम्म आएका छैनन् । यत्रो क्षति भएको छ, उनी अझै खानपिनमै रमाइरहेका होलान् ।’
वडा सदस्य रसेल श्रेष्ठले पनि महानगरको दमकल ढिलो आएको पुष्टि गरे । उनले भने, ‘३ बजे नै स्थानीयले फोन गरेका रहेछन् । म साढे ४ बजे पुगेँ, तर महानगरको दमकल आइसकेको थिएन । बेलैमा आएको भए यत्रो क्षति हुने थिएन ।’
तर, महानगर विपद् व्यवस्थापन विभाग प्रमुख विष्णुप्रसाद जोशीले भने महानगरको दमकल सबैभन्दा पहिला पुगेको दाबी गरेका छन् । उनका अनुसार, ‘४ बजेर ४१ मिनेटमा फोन आएको थियो, ४ बजेर ४५ मिनेटमै दमकल पुगेको हो ।’ उनले महानगरलाई सुनियोजित रूपमा बदनाम गर्ने प्रयास भइरहेको दाबी गर्दै दमकलको सिसीटिभी फुटेज पनि भएको बताए ।
सिंहदरबारको प्रसंग
जेन जी विध्वंशमा भदौ २४ गते दिउँसो सिंहदरबारमा लागेको आगो भोलिपल्टसम्म बलिरह्यो । त्यसक्रममा सेनादेखि महानगरसम्म सबै हात बाँधेर बस्दा ऐतिहासिक सिंहदरबार खण्डहर बन्यो । तर, विपद् महाशाखा प्रमुख जोशीले भने ‘२४ गते नै महानगरको दमकल सिंहदरबारमा खटिएको र भोलिपल्ट बिहान साढे ८ बजे सर्वोच्च अदालतमा समेत पुगेको’ हास्यास्पद दाबी गरेका छन् ।
कुमारीलाई गाडी नदिएको विवाद
यस्तै, निवर्तमान जीवित देवी कुमारी तृष्णा शाक्यको असोज १४ गतेको बिदाईमा पनि महानगर विवादमा परेको छ । नयाँ कुमारी आर्यतारा शाक्यलाई मनोनयन गर्दा तृष्णाको सामान घर लैजान गाडी मागिए पनि महानगरले नदिएको स्रोत बताउँछ ।
‘हरेकपटक कुमारीको सामान घर लैजान महानगरले गाडी उपलब्ध गराउँथ्यो, यसपालि भने दिइएन,’ स्रोतको भनाइ छ । लगातार ऐतिहासिक संरचना जल्दा र परम्परागत संस्कृतिमा बेवास्ता गरेपछि बालेन नेतृत्वमाथि गम्भीर प्रश्न उठाइएको छ ।
टिप्पणीहरू