गुन्डुमा 'पेड' र 'ननपेड' सामाग्रीको चर्चा
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालको शक्तिबारे चासो व्यक्त गर्न थाल्नुभएको छ । उहाँले आइटीसँग सम्बन्धित विभिन्न व्यक्तिलाई गुन्डुस्थित निजी निवासमा बोलाएर सामाजिक सञ्जालको विभिन्न आयामबारे राय-परामर्श लिनुभएको बुझिएको छ ।
ओली नेतृत्वको सरकारले अघिल्लो महिना फेसबुक, युटुब, इन्स्टाग्रामसहित २६ वटा डिजिटल एप बन्द गरेपछि युवाहरु टिकटक हुँदै 'डिस्कर्ड'मा एकताबद्ध भएर जेन-जी प्रदर्शन घोषणा गरेका थिए । त्यही एपबाट घोषणा भएको प्रदर्शनको कारण ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिँदै बालुवाटारबाट सेनाको हेलिकोप्टरमा उड्नुपर्ने परिस्थिति आएको थियो ।
ओलीले त्यसयता पार्टीका नेता तथा कार्यकर्तासँग सामाजिक सञ्जालमा राखिने 'पेड' र 'ननपेड' सामाग्रीबारे चासो राख्न थाल्नुभएको हो । बताइएअनुसार पार्टीका केही नेता दशैँको दुई दिनअघि अध्यक्ष भेट्न गुन्डु पुगेका थिए । सोक्रममा ओलीले सामाजिक सञ्जालको प्रयोग र फेसबुकमा राखिने सामाग्रीबारे गम्भीर ढंगले चासो राखेको त्यहाँ गएका एक नेताले बताए ।
'हामी पुग्नुभन्दा पहिले नै अध्यक्षज्यूले केही युवाहरुसँग सामाजिक सञ्जालसम्बन्धी गम्भीर भएर छलफल गर्दै हुनुहुन्थ्यो', बैठकमा सहभागी उनले भने, 'पछाडि थाहा पाएँ, उनीहरु आइटी पढेका केटाहरु रहेछन् ।'
अध्यक्षले आफूहरूसँग पनि फेसबुकमा पेड र ननपेड सामाग्रीबारे सोधीखोजी गरेको ती नेताले जानकारी दिए । ओलीको भनाई उदृत गर्दै उनले थपे, 'साइबर शक्ति निर्णायक बन्ने स्थिति आएको छ, मान्छेमा गलत मानसिकता सिर्जना गर्ने सामाग्री बढी आउन थाले, पेड र ननपेड पनि हुँदोरहेछ, कोही जानकार हुनुहुन्छ यो विषयमा ?'
ओलीले यसरी चासो राख्दा नेताहरुले भने 'पैसा तिरेपछि धेरैसम्म पुर्याउन सकिन्छ' भन्ने मात्र जवाफ दिएको बुझिएको छ ।
टिप्पणीहरू