हिंसात्मक आन्दोलनको आशंकामा दिल्लीमा सुरक्षा सतर्कता, नेपाल बोर्डरमा विशेष सुरक्षा
गत महिना नेपालमा भड्किएको हिंसात्मक आन्दोलन झैँ नयाँ दिल्लीमा पनि हिंसा फैलने आशंकापछि दिल्ली प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । नेपालमा भएको जेन–जीको नेतृत्वविहीन तर व्यापक हिंसात्मक आन्दोलन चलाएपछि भारतमा पनि त्यस्तै प्रदर्शन फैलिने आशंका गरिएको छ ।
दिल्ली प्रहरी आयुक्त सतीश गोल्चाले प्रहरीका तीन निकाय — इन्टेलिजेन्स ब्राञ्च, अपरेसन्स युनिट र दिल्ली आम्र्ड पुलिस — लाई ‘कन्टिन्जेन्सी एक्सन प्लान’ तयार गर्न निर्देशन दिएका छन् । भारतीय अनलाइन पत्रिका डट कमका अनुसार हालै बसेको एक बैठकमा आयुक्त गोल्चाले दुई जना विशेष प्रहरी आयुक्तलाई गैर–घातक हतियारको भण्डार अडिट गर्न र थप हतियार वा प्रविधि आवश्यकबारे सुझाव दिनसमेत समिति गठनको आदेश दिएका छन् ।
भारतीय प्रहरीले काठमाडौंसहित नेपालका विभिन्न ठाउँमा भएको ‘नेतृत्वविहीन आन्दोलन’ दिल्लीसम्म फैलिन सक्ने वा त्यसबाट प्रेरित समानान्तर आन्दोलन जन्मिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै यस्तो कदम चालिएको जनाएको छ । आयुक्त गोल्चाले विशेष प्रहरी आयुक्तहरूको संयुक्त बैठकमा नेपालको अवस्थाबारे बताएको थिए ।
सोही छलफलपछि इन्टेलिजेन्स डिभिजनका विशेष प्रहरी आयुक्तलाई दिल्ली आम्र्ड पुलिस र अपरेसन्स युनिटसँग मिलेर विस्तृत कन्टिन्जेन्सी एक्सन प्लान बनाउन निर्देशन दिइएको हो । केही दिनअघि जारी गरिएका निर्देशनअनुसार जिल्ला प्रहरी, साइबर सेल र केन्द्रीय सशस्त्र प्रहरी बलबीच आपसी तालमेललाई अझ मजबुत बनाउनुपर्ने उल्लेख छ ।
प्रहरी स्रोतका अनुसार तयार भइरहेको योजनामा सीमा गतिविधि कडाइका साथ निगरानी गर्ने, संवेदनशील क्षेत्रमा ड्रोनको प्रयोग बढाउने र ठूलो जमघट भए तत्काल अर्धसैनिक बलसँग सहकार्य गर्नेजस्ता रणनीतिहरू समावेश छन् । प्रारम्भिक विवरण सार्वजनिक गर्दै एक अधिकारीले भने, ‘विशेष प्रहरी आयुक्तहरूले दिल्ली प्रहरीका सबै रिजर्भ बटालियन र उपलब्ध केन्द्रीय सशस्त्र प्रहरी बलका कम्पनीहरूको मूल्यांकन गर्दैछन् । योजना अनुसार दिल्लीमा यस्तै परिस्थिति आयो भने सबैभन्दा पहिले रिजर्भ प्रहरी कम्पनीहरू परिचालन गरी कानून–व्यवस्था नियन्त्रण गर्ने व्यवस्था मिलाइनेछ ।’
टिप्पणीहरू