रात्रिकालीन बस सेवा अनिश्चित
सरकारले जोखिमयुक्त राजमार्ग तथा सडकमा रात्रिकालीन बस सेवा सञ्चालनमा अनिश्चितकालिन रोक लगाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आजको बैठकले त्यस्ता सडकमा रात्रिकालीन बस सेवा सञ्चालन नगर्न नगराउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।
‘अर्को सूचना जारी नहुनुञ्जेलसम्मका लागि जोखिमयुक्त राजमार्ग तथा सडकमा रात्रिकालिन बस सेवा सञ्चालन नगर्न नगराउन स्थानीय प्रशासनलाई निर्देशन दिने,’ निर्णयमा भनिएको छ ।
प्राधिकरणले अत्यावश्यक सेवा, राजमार्गमा रोकिएका मालवाहक र यात्रुवाहक सवारी साधन तथा छोटो दूरीमा सञ्चालन हुने गाडीको हकमा स्थानीयस्तरको विपद् जोखिम अवस्थालाई दृष्टिगत गरी अन्तर जिल्ला समन्वयमा आवागमन सुचारु गर्न स्थानीय प्रशासनलाई निर्देशन दिने पनि निर्णय गरेको छ ।
त्यस्तै, अवरुद्ध सडक, खानेपानी, विद्युत सञ्चारलगायत अत्यावश्यक सेवा सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई यथाशीघ्र आवश्यक कार्य गर्न लेखी पठाउने प्राधिकरणको अर्को निर्णय छ ।
प्राधिकरणले विपद्मा ज्यान गुमाएका परिवारलाई मापदण्डबमोजिम तत्काल राहत उपलब्ध गराउन र घाइतेको निःशुल्क उपचारका निम्ति स्थानीय प्रशासनलाई निर्देश गर्ने, विपद् प्रभावित व्यक्ति तथा परिवारलाई राहत, स्थानान्तरण तथा पुनःस्थापनासम्बन्धी कार्य यथाशीघ्र सम्पन्न गर्न सम्बन्धित स्थानीय तह र सरोकारवाला निकायलाई अनुरोध गर्ने पनि जनाएको छ ।
टिप्पणीहरू