सडक खुल्नेबितिक्कै दुर्घटना, दुईजना सिकिस्त

सडक खुल्नेबितिक्कै दुर्घटना, दुईजना सिकिस्त

पहिरोको अवरोध पन्छाएर सवारी आवागमन सुचारु भएको नारायणगढ–मुग्लिन सडक खण्डमा ठूलो दुर्घटना भएको छ ।

भरतपुर–१ भतेरी जंगलस्थित नारायणगढ–मुग्लिन सडक खण्डमा आज बिहान कारले दुईवटा मोटरसाईकललाई ठक्कर दिएको हो । दुर्घटनामा गोरखाका एक दम्पती सिकिस्त घाइते भएका छन् । 

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा.प्र.०१–०३३च २६२७ नं.को कारले बिहान सवा १० बजेको समयमा विपरीत दिशाबाट आउँदै गरेको ग२३प ३०९२ र बा.प्र.०६–००१ प ९३९१ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी गराएको छ ।

प्रहरीका अनुसार ठक्करबाट ग२३प ३०९२ नं. को मोटरसाईकल चालक कास्की पोखरा–११ का ३६ वर्षीय राजु आचार्यको शरीरमा बाहिरी चोटपटक नभई अवस्था सामान्य रहेको भएपनि बा.प्र.०६–००१ प ९३९१ नं.को मोटरसाईकलका चालक गोरखा, भिमसेन थापा गाउँपालिका–१ बस्ने वर्ष ५६ का खड्कप्रसाद पौडेल र उक्त मोटरसाईकल पछाडि सवार उनकी श्रीमती वर्ष ४५ की रेखाकुमारी पौडेल घाइते भएका हुन् ।

खुट्टा र अनुहारमा चोट लागेका खड्कप्रसादको अवस्था मध्यम छ भने रेखाकुमारीको शरीरका विभिन्न भागमा चोट लागी अवस्था गम्भीर रहेको बताइएको छ । 

घाइतेको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र दुबै मोटरसाईकल, कार र कार चालक धनुषा मिथिला बिहारी नगरपालिका–१० बस्ने वर्ष ३७ को रामनारायण यादव प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।

टिप्पणीहरू