बेपत्ता डेढ दर्जन प्रहरीको खोजतलास शुरु
नेपाल प्रहरीले लामो समयदेखि बेपत्ता कर्मचारीको खोजबिन शुरु गरेको छ । फरक फरक मितिमा आफूखुशी गैरहाजिर रहेका विभिन्न दर्जाका १८ जनालाई प्रहरी प्रधान कार्यालयले हाजिर हुन निर्देशन दिएको हो ।
उनीहरुको नाममा यसअघि पनि पटकपटक सूचना टाँस गर्दासमेत बेवास्ता गरेको जनाउँदै प्रहरी हेडक्वार्टरले सफाइका लागि अन्तिम मौका दिएको जनाएको छ । चित्तबुझ्दो लिखित स्पष्टीकरणसहित आगामी सात दिनभित्र उपस्थित हुन भनिएको छ ।
स्पष्टीकरण सोधिनेमा प्रहरी सहायक हवल्दार निजामुद्धिन पठान र देबराम लावड, प्राविधिक प्रहरी जवान पारस बुढामगर, राजन घिमिरे र सन्जय रम्बा तामाङ, जवानहरु कमल बिसी, उत्तमबहादुर विष्ट, करनबहादुर चन्द, राम परियार, अनिल विक, अजित राई छन् ।
त्यस्तै, जवानहरु भुपेन्द्रसिंह ठगुन्ना, अर्जुन धिताल, अनिलप्रसाद यादव, रोहुल्ला राय भाट, कौशिला बोगटी, दिपेन्द्र चौधरी र कार्यालय सहयोगी राहुलकुमार राउत मेहतरलाई पनि स्पष्टीकरण सोधिएको छ ।
तोकिएको समयमा स्पष्टीकरणसहित उपस्थित नभएमा प्रहरी नियामावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (ख) को कसुरमा सोही नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने कार्यालयको चेतावनी छ ।
टिप्पणीहरू