प्रधानमन्त्रीको फेसबुक अकाउन्ट दुई दिनमै गायब
प्रधानमन्त्री सुशीला कार्कीको अफिसियल फेसबुक अकाउन्ट गायव भएको छ । आइतबार खोलिएको 'पिएम सुशीला कार्की' नामको फेसबुक अहिले भेटिंदैन ।
प्रधानमन्त्री कार्यालयले आइतबार एक सूचना जारी गर्दै फेसबुक, इन्स्टाग्रम र ट्वीटरमा कार्कीको नयाँ खाताबारे जानकारी गराएको थियो । तर, अहिले सर्च गरेर खोज्दा फेसबुक एकाउन्ट भेटिंदैन भने इन्स्टा र ट्वीटरमा कुनै पोष्ट गरिएको छैन ।
दुई दिनमै प्रमको फेसबुक एकाउन्ट कसरी हरायो ? भन्ने प्रश्नमा प्रधानमन्त्री कार्यालयले स्पष्ट जवाफ दिन सकेन । प्रधानमन्त्री कार्यालयको आइटी हेर्ने सहसचिव सुवाल ढकाल भन्छन्, 'प्रधानमन्त्रीज्यूको सल्लाहकार र हामी बसेर नयाँ खाता खोलेका हौँ, तर अहिले कसरी हरायो थाहा छैन । उहाँको सचिवालयले ह्याण्डेल गर्ने कुरा भएको थियो, कसरी हरायो भन्ने बुझिरहेका छौँ ।'
यसअघि प्रधानमन्त्री कार्यालयले फेसबुकमा 'पिएम नेपाल' र ट्वीटरमा 'पिएमओ नेपाल' नामक खाता सञ्चालनमा ल्याएको थियो । प्रधानमन्त्री कार्कीले पुरानो खाता प्रयोग नगर्ने बताएपछि नयाँ खाता खोलिएको हो ।
प्रम कार्कीले सरकारका काम कारवाहीको सम्पूर्ण जानकारी पुरानो खाताबाट पोस्ट र शेयर नगर्न निर्देशन दिएको ढकालले बताए । 'त्यसपछि हामीले नयाँ खाता खोलेर सचिवालयलाई दिएका हौँ', उनले भने ।
ढकालको भनाइलाई आधार मान्ने हो भने अब पुरानो 'पिएम नेपाल' नामक खाताबाट कुनै पोस्ट हुने छैन । 'अर्को सरकार नबन्दासम्म पुरानो अकाउन्टबाट केही पोस्ट हुँदैन, त्यसमा भएका अर्काइभ त्यही रहन्छन्', ढकालले थपे ।
पुरानो खातालाई अध्ययन गर्ने हो भने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाको अर्काइभ देखिन्छ । तर, प्रधानमन्त्री कार्कीले त्यही खातबाट आफ्नो तस्वीर शेयर गर्न असहज मानेपछि नयाँ खाता खोल्न निर्देशन दिएको प्रम कार्यालयको भनाइ छ ।
टिप्पणीहरू