६ महिनामा विपदबाट ३ सयले ज्यान गुमाए, ११ सय बढी घाइते
फाइल फाेटाे
२०८२ सालको पहिलो ६ महिनामा प्राकृतिक विपद्मा परेर ३ सय भन्दा बढीले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको दैनिक विपद् बुलेटिनमा उल्लेख भएअनुसार वैशाख १ देखि असोज २० गतेसम्मको अवधिमा विभिन्न विपदजन्य घटनामा ३ सय ८ जनाको ज्यान गएको हो ।
यस अवधिमा घटेको ४ हजार १६४ वटा विपद्का घटनामा परी ११ सय १३ जना घाइते भएका छन् भने ३३ जना अझै बेपत्ता छन् । ८ हजार ५९५ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ ।
रिपोर्टअनुसार वैशाख १ देखि असोज २० गतेसम्म ३०७ वटा बाढीको घटना भएकोमा ३१ जनाको मृत्यु भएको छ । त्यस्तै, २३ जना बेपत्ता र १५ जना घाईते भएका छन् । बाढीबाट ३ हजार २ सय ९७ परिवार प्रभावित बनेका छन् ।
यो अवधिमा ५३९ वटा पहिरोको घटना भएकोमा ६५ जनाले ज्यान गुमाउनुपरेको छ । पहिरोमा पुरिएर ९ जना बेपत्ता हुँदा ७७ घाईते भएका छन् । ७५७ परिवार प्रभावित भएको छ ।
६ महिने यो अवधिमा भारी वर्षाका घटना ४०१ वटा रहेका छन् । जसबाट ७ जनाको मृत्यु हुनुका साथै १८ जना घाईते भएको र ९७८ परिवार प्रभावित बनेको रिपोर्टमा उल्लेख छ ।
त्यसैगरी, यस अवधिमा चट्याङबाट ४५ जनाले ज्यान गुमाएका छन् । ३४६ वटा घटनाबाट ४२५ परिवार प्रभावित हुँदा २५६ जना घाईते भएका छन् । सर्पदंशबाट पनि ८७ जनाको मृत्यु भएको छ । ४३९ वटा सर्पदंशको घटना यस अवधिमा भएको विवरणमा देखिन्छ । यो घटनामा ३५६ जना घाईते भएका छन् भने ४४५ परिवार प्रभावित भएको जनाइएको छ ।
२०८२ को वैशाख १ देखि असोज २० गतेसम्म आगलागीका १ हजार ३८७ घटना भएका छन् । जसबाट २४ जनाको ज्यान गएको छ भने १९१ जना घाईते भए । आगलागीबाट १ हजार ५१० परिवार प्रभावित बनेको विवरणमा उल्लेख छ ।
वन—डढेलोका १ सय ५८ वटा घटना पनि यसै अवधिमा भएका छन् । जसबाट २ जना घाईते हुनुका साथै २७ परिवार प्रभावित भएको देखिन्छ । प्राधिकरणका अनुसार हावाहुरीका कारण पनि ८ जनाले ज्यान गुमाउनु परेको छ भने २८५ वटा घटनामा ४४ जना घाईते भएका छन् । यसबाट ५४२ परिवार प्रभावित भएको छ ।
यस अवधिमा जनावरको आक्रमणबाट पनि मानिसले अकालमा ज्यान गुमाएका छन् । रिपोर्टका अनुसार २३८ वटा यस्ता घटनामा २२ जनाको ज्यान गएको हो । जनावर आक्रमणबाट ३९५ परिवार प्रभावित हुँदा १ जना बेपत्ता र १०८ जना घाईते भएका छन् ।
यो वर्षको अहिलेसम्मको अवधिमा लेक लागेर १९ जनाको मृत्यु भएको छ । ६१ वटा घटनामा ४५ जना घाईते भएको र प्रभावित परिवारको संख्या ५९ रहेको जनाइएको छ । ढुंगा पल्टिएर प्रभावित हुने परिवारको संख्या ५ रहेको छ भने २ वटा घटना भएका छन् । जसमा १ जना घाईते भएको विवरणमा देखिन्छ ।
यस अवधिमा महामारीको घटना एउटा मात्रै छ, जसबाट १५५ परिवार प्रभावित भएका छन् ।
असोज १९ गते विपद्जन्य घटनाबाट ५३ जिल्ला प्रभावित
प्राधिकरणको रिपोर्ट अनुसार असोज १९ बिहान १० देखि २० गते बिहान १० बजेसम्म बाढीबाट प्रभावित जिल्ला १५ वटा छन् । ३९ वटा यस्ता घटनामा एक जना बेपत्ता छन् भने ५५७ को उद्धार भएको छ । ३७८ जना प्रहरी परिचालन गरिएको छ ।
त्यस्तै, पहिरोबाट १२ वटा जिल्ला प्रभावित भए । २१ वटा पहिरोका घटनामा १ जनाको ज्यान गएको छ भने ३ जना घाईते छन् । प्रभावितको उद्धारका लागि ३१४ जना प्रहरी परिचालन गरिएको जनाइएको छ । अविरल वर्षाबाट ५ जिल्ला प्रभावित थिए । ८ वटा घटनामा १ जनाको मृत्यु भयो भने १ घाईते र २१ जनाको उद्धार गरिएको छ ।
यस अवधिमा समग्रमा ५३ जिल्ला प्रभावित बने भने ९४ वटा घटनामा ४ जनाको ज्यान गयो । १ जना बेपत्ता भए भने १७ जना घाईते भएका छन् । यस अवधिमा ५७८ जनाको उद्धार गरिएको र ९ सय जना प्रहरी परिचालन गरिएको रिपोर्टमा उल्लेख छ ।
प्राधिकरणका अनुसार कूल ६१ लाख ४३ हजार ५ सय अनुमानित क्षति भएको छ ।

टिप्पणीहरू