कार्की नेतृत्वको आयोगप्रति बारको आशंका, छिट्टै थप धारणा बनाउने
कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएशनले जेन-जी आन्दोलनका क्रममा भएका घटना छानविनका लागि गठित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगको निष्पक्षतामाथि प्रश्न उठाएको छ ।
आज समसामयिक विषयमा विज्ञप्ति जारी गर्दै महासचिव केदारप्रसाद कोइरालाले आयोगले निष्पक्ष प्रतिवेदन दिनेमा आशंका व्यक्त गरेका हुन् । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको पूर्वधारणाले निष्पक्षतामा आँच आउन सक्ने उनको बुझाइ छ ।
विशेष अदालतका पूर्वअध्यक्ष समेत रहेका कार्कीले जेन-जी प्रदर्शन जारी रहेका बेला पक्षमा अडान लिँदै राजनीतिक दलका नेताविरुद्ध सामाजिक सञ्जालमा शृंखलावद्ध स्टाटस लेखेका थिए । जसका कारण उनी नेतृत्वको जाँचबुझ आयोगले घटनाको निष्पक्षरूपमा अनुसन्धान गर्नेमा धेरैले शंका गरेका छन् ।
यसअघि मानवअधिकार एलाइन्सलगायत विभिन्न सरोकारवाला संघ संस्थाले पनि यसमा चासो राखेका थिए । आज बारले जारी गरेको विज्ञप्तिको छैठौँ बुँदामा यसबारे चिन्ता व्यक्त गरिएको छ ।
‘गत भदौ २३ गते भएको जेनजीको आन्दोलन र भदौ २४ गते भएको तोडफोड आगजनी, लुटपाटसमेतको घटनाउपर छानबिन गर्न गठित आयोगका अध्यक्षको पूर्वधारणाले आयोगको निष्पक्षतामा आँच आउन नसक्ने कुराको विश्वसनीय प्रत्याभूति सार्वजनिक भएको छैन’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो गम्भीर घटनालाई छानबिन गर्न नेपाल सरकारले औपचारिकता मात्र निर्वाह गर्न खोजी विषयवस्तुलाई हल्का रूपमा लिएको आमधारणा बनिरहेको छ । यसबाट आयोगको प्रतिवेदनले समेत विश्वसनीयता गुमाउने हुन्छ ।’
बारले पूर्व पदाधिकारी र एकाई बारका पूर्व पदाधिकारीहरूसँगको संयुक्त बैठक बोलाई प्राप्त सुझावका आधारमा यसबारे छिट्टै थप धारणा बनाउने पनि जनाएको छ ।
सुरक्षा निकयको मनोबल खस्काउनेगरी भैरहेका पछिल्ला गतिविधिप्रति बारले चिन्ता व्यक्त गरेको छ । यसप्रति गम्भीर हुन सरकारलाई आग्रह गर्दै विज्ञप्तिमा भनिएको छ, ‘आवेग, आक्रोश र अराजकताले हत्या, हिँसा र प्रतिहिंसाको दुश्चक्र निम्त्याउँछ । हामी दिगो शान्तिको पक्षमा छौँ । दिगो शान्ति सम्वाद र सहकार्यबाट मात्र सम्भव छ । तसर्थ व्यापक संवाद गर्न हामी नेपाल सरकार समक्ष अनुरोध गर्दछौँ ।’
टिप्पणीहरू