आफ्नै कारण मालपोत कार्यालय विवादमा
मालपोत कार्यालय, कलंकीले जारी गरेको पछिल्लो सूचना विवादित बनेको छ। कार्यालयले भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन र विध्वंशका क्रममा सम्पूर्ण कागजात जलेर नष्ट भएकाले सेवाग्राहीहरूलाई दर्ता श्रेस्ता पुनः तयार पार्न आह्वान गरेको छ ।
जारी सूचनामा भनिएको छ, ‘कार्यालयमा रहेका अभिलेख जलेर नष्ट भएका कारण दैनिक सेवा प्रवाह बन्द भएकोले सेवा पुनः सुचारु गर्न नष्ट भएका दर्ता श्रेस्ता तयार गर्न जग्गाधनी स्वयम् उपस्थित भई भूमि प्रशासन निर्देशिका, २०८१ को दफा २१ अनुसार आवश्यक कागजातसहित निवेदन पेश गर्नुपर्नेछ।’
कार्यालयले दर्ता प्रक्रियाका लागि नागरिकता प्रमाणपत्रको प्रतिलिपि, सक्कल पुर्जा, प्लट रजिष्ट्रार, फिल्डबुक, नक्सा, रोक्का प्रमाणपत्र, स्थलगत सर्जमिन र अन्य आवश्यक कागजातसहित कुल एक दर्जन कागजात मागेको छ। डिजिटल नक्सा र रेकर्ड उपलब्ध हुँदा पनि सेवाग्राहीहरूलाई यसरी उपस्थित हुन निर्देशन दिएपछि स्थानीय असन्तुष्ट भएका छन्।
एक जग्गाधनीले भने, ‘एक्काइसौं शताब्दीमा पनि मालपोत कार्यालयको प्रक्रिया अठारौं शताब्दी जस्तो छ। डिजिटल नक्सा र रेकर्ड उपलब्ध छ, आफ्नै सक्कल लालपूर्जा पनि छ, तर यत्रो कागजात मागेर आफैं उपस्थित हुन भनिएको छ।’
अर्काे जग्गाधनीले भ्रष्टाचारविरुद्धको आन्दोलनले झन् सरकारी कार्यालय जानुपर्ने बाध्यता सिर्जना गरेको र यसले भ्रष्टाचार बढ्ने आरोप लगाएका छन्। उनी भन्छन्, ‘घुसखोरी नियन्त्रण गर्ने दीर्घकालीन उपाय भनेको नागरिकलाई सरकारी कार्यालय जानुपर्ने बाध्यता हटाउनु हो। तर अहिलेको अवस्था यस विपरीत छ।’
यस्तै सूचना मालपाेत कार्यालय, कास्कीले पनि प्रकाशित गरेकाे छ ।

टिप्पणीहरू