ओलीको निर्वाचन क्षेत्र बहिष्कार अभियान सामाजिक सञ्जालमा सीमित

ओलीको निर्वाचन क्षेत्र बहिष्कार अभियान सामाजिक सञ्जालमा सीमित

पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध गृह जिल्ला झापाका मतदाताहरुले बहिष्कार अभियान थालेका छन् । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनमा ओली उम्मेदवार समेत बन्न लायक नभएको भन्दै युवाहरुले सामाजिक सञ्जालमा ह्याजट्याग ‘ओलीटिक्स इज ओभर, रिजेक्ट ओली’ अभियान चलाएका हुन् । 

‘हामी झापा–५ का मतदाता, हामीले मत दिएर खड्गप्रसाद ओलीले हाम्रो ठाउँको प्रतिनिधित्व गर्न पुग्दा देशले भोग्नुपरेको दुर्भाग्यपूर्ण अवस्थाको निम्ति माफी माग्न चाहन्छौँ’, युवाहरुले भनेका छन्, ‘०८२ फागुन २१ गते हुन गइरहेको निर्वाचनमा खड्गप्रसाद ओली हाम्रो प्रतिनिधि त के उम्मेदवार हुन समेत अयोग्य रहेको खबरदारीपूर्ण स्वःघोषणा गर्दछौँ ।’

ओलीलाई बहिष्कार गर्ने मतदाताको अभियानमा अन्य निर्वाचन क्षेत्रका युवासहित नेता, लेखक, कवि, कलाकारले समेत एक्यबद्धता जनाएको देखिन्छ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)की नेतृ मानुषी यमी भट्टराईले मतदाताको अभियानप्रति समर्थन जनाउँदै ओलीविरुद्धको थिम पोस्टर शेयर गरेकी छन् । लेखक रोहेज खतिवडा र कवि नवीन प्राचिनले पनि ‘नेभर अगेन’ भन्दै बहिष्कारको पोस्टर सेयर गरेका छन् । 

झापा–५ की मतदाता दीपा दाहालले भनेकी छन्, ‘अहिले नगरे कहिले ? हामीले नगरे कसले ? हामीलाई अहंकारी, दम्भी, मूर्ख शासक होइन, सभ्य र विवेकशील नेतृत्व आवश्यक छ ।’

ओलीकै अर्का मतदाता विपिन आचार्यले पनि भनेका छन्, ‘हामी ती स्कुले लुगामा गोली हानेर ढालिएका सहिद परिवार सँगै छौँ, हामी ओलीलाई त्याग्दै छौँ।’

त्यस्तै, प्रश्न कुवँर, सुरज सुवेदी, समुन्द्र भण्डारीलगायतका युवाहरुले पनि अबदेखि ओलीलाई मत नदिने बताएका छन् । खासगरी झापा–५ का स्थानीय युवाहरुले ओलीलाई बहिष्कार गर्ने अभियानमा सक्रियता जनाएको देखिन्छ । 

स्मरण रहोस्, ०७९ को निर्वाचनमा झापाको ५ नम्बर क्षेत्रबाट उम्मेद्वार बनेका ओली साढे २८ हजारभन्दा बढी मतान्तरले विजयी हुँदै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । त्यतिबेला ओलीले ५२,३१९ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले २३,७४३ मत ल्याएका थिए ।

टिप्पणीहरू