मन्त्री, सचिवहरू स्विट्जरल्याण्डदेखि पेरुसम्मको यात्रामा
सरकारी उच्च अधिकारीहरू पछिल्लो समय पनि निरन्तर विदेश भ्रमणमा व्यस्त देखिन्छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीदेखि केही सचिवहरूसम्म विभिन्न अन्तर्राष्ट्रिय सम्मेलन र बैठकका लागि विदेश जाने तयारीमा छन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा आगामी कात्तिक ३ देखि ५ गतेसम्म स्विट्जरल्याण्डको जेनेभामा हुने उद्योग र विकाससम्बन्धी १६औँ संयुक्त राष्ट्र सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । कानुन, न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मन्त्री सिन्हा भाइटीकाको दिन स्वदेश फर्किने भ्रमण तालिका छ ।
त्यस्तै, कृषि तथा पशुपन्छी विकासमन्त्री मदन परियार आगामी मंसिर १० र ११ गते पेरुको लिमामा आयोजना हुने खाद्य तथा कृषिका लागि वनस्पति आनुवंशिक स्रोत सम्बन्धी उच्चस्तरीय बैठकमा सहभागी हुने बताइएको छ ।
यता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा फ्रान्स भ्रमणमा जान तयारीमा छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थको चीन भ्रमण पनि पक्का भएको छ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले यसअघि नै अत्यावश्यक अवस्थामा बाहेक सरकारी कोषमा खर्च हुनेगरी विदेश भ्रमण नगर्ने, जानै परेको अवस्थामा एक वा दुई जना मात्रै जाने, विदेशमा रहेका राजदूत तथा नियोगबाट प्रतिनिधित्व गराइने निर्णय गरेको छ ।
टिप्पणीहरू