तिहारका मसला र सामानमा एमआरपी राख्न निर्देशन

तिहारका मसला र सामानमा एमआरपी राख्न निर्देशन

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तिहारमा अत्यधिक प्रयोग हुने मसलामा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) सहितको लेबल राख्न निर्देशन दिएको छ । नजिकिँदो तिहारका लागि बजारमा बेचबिखनका निम्ति राखिएका मसला, तामा, चाँदीका भाँडा, झिलिमिलीलगायत सामग्रीमा एमआरपी, लेबल र मूल्यसूची नभेटिएपछि विभागले उक्त निर्देशन दिएको हो । 

चाडपर्वमा प्रयोग हुने विशेष सामानसहित दैनिक उपभोग्य सबैखालै वस्तुमा एमआरपी राख्न अनुरोध गर्दै जारी विज्ञप्तिमा भनिएको छ,  ‘चाडपर्वको अवसरमा विशेष प्रयोगमा आउने विभिन्न सामानलगायत दैनिक उपभोग्य सबैखाले वस्तुमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) सहितको लेबल र खुला (नापेर, जोखेर, गनेर) रुपमा बिक्री वितरण गर्ने वस्तुको मूल्यसूची राखी बिक्रीवितरण गर्न गराउन सबै उत्पादक, बिक्रेतालाई अनुरोध गर्दछौं ।’ 

विभागले स्वच्छ र प्रतिस्पर्धी बजार कायम गर्ने उपभोक्ता हक संरक्षण गर्न पनि अनुरोध गरेको छ । साथै, एमआरपी, लेबल र मूल्यसूची राखिएको वस्तु खरिद गर्न र कुनै गुनासो भएमा विभागको टोल फ्रि नम्बर ११३७ मा जानकारी गराउन उपभोक्तालाई सचेत गराइएको छ ।

टिप्पणीहरू