बालेन साहलाई छाड्न नहुने ठहर
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले भदौ २३ र २४ गतेको प्रदर्शन र विध्वंशपछिको घटनाक्रमबारे आधिकारिक धारणा सार्वजनिक गर्दै काठमाडौं महानगरका मेयर बालेन साहलाई पनि छानबिनको दायरामा ल्याउनुपर्ने ठहर गरेको छ । संघ अध्यक्ष दुजाङ शेर्पाले भने, ‘पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्रीदेखि बालेन शाहसम्म सबैको भूमिकाको निष्पक्ष छानबिन हुनुपर्छ।’
उनले आन्दोलनमा विद्यार्थीको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै जेनजी पुस्ताको नाममा कसैले फाइदा लिन नपाउने चेतावनी दिए। ‘बालेन साहको अभिव्यक्तिले सिंहदरबारमा आगजनीसम्मको स्थिति बन्यो, त्यसको पनि जवाफदेही हुनुपर्छ,’ उनले भने।
संघले आन्दोलनका क्रममा भएको हिंसा, आगजनी र प्रहरीमाथिको आक्रमण योजनाबद्ध भएको दाबी गर्दै त्यसमा संलग्न जोसुकैलाई पनि कानूनको दायरामा ल्याउन माग गरेको छ । जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सिंहदरबार जलाउनु पर्छ भन्ने अभिव्यक्ति दिने व्यक्ति, आन्दोलनमा गोली चलाउने अधिकारी, र जिम्मेवार नेताहरू सबै छानबिनको कठघरामा उभिनुपर्छ।’
पत्रकार सम्मेलनमा नेविसंघ प्रवक्ता सुरज सेजवाल, केन्द्रीय सदस्य नारायण पाण्डे, पाटन क्याम्पस स्ववियु सभापति रोहित कपाली, तथा नेपाली कांग्रेसका नेता धनबहादुर शाही, सृजना मल्ललगायत उपस्थित थिए ।
टिप्पणीहरू