अध्यक्षका लागि महासचिव जे गर्न पनि तयार !
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि नेतृत्व छाड्न चौतर्फी दबाब बढिरहेको बेला महासचिव शंंकर पोखरेलले भने नेताहरुलाई बोलीमा लगाम लगाउन निर्देशन दिन थालेका छन् । ओलीविरुद्ध अभिव्यक्ति दिइरहेका नेताहरुलाई पोखरेलले आफ्नो निवासमै बोलाएर धेरै नबोल्न भनेको स्रोतको दाबी छ ।
जस अनुसार लुम्बिनी र कर्णाली प्रदेशका नेताहरुले हिजो महासचिव पोखरेललाई भेटेका थिए । ‘अझ कार्यकाल ओली नै निर्विकल्प नेतृत्व रहेको’ भन्दै त्यही अनुसारको वातावरण बनाउन निर्देशन दिएको भेटमा सहभागी एक नेताले जानकारी दिए ।
हिजो बसेको सचिवालयको दोस्रो दिनको बैठकमा अधिकांश पदाधिकारीले ओलीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । तर ओलीले भने ‘किन छाड्ने ?’ भनेर नेतृत्व नछाड्ने अडान लिएको विषय सार्वजनिक भइसकेको छ । यसरी सचिवालयमा अल्पमतमा पर्दै गएका ओलीलाई तेस्रो पटक नेतृत्वमा पुर्याउन महासचिव पोखरेलले नेताहरुलाई कन्भिन्स गर्न थालेको अर्थ लगाइएको छ ।
कतिसम्म भने ओलीले नेतृत्व छाडिहालेमा त्यसपछिको नेतृत्व को ? भन्नेबारे समेत महासचिव पोखरेलले नेताहरुलाई पूर्वजानकारी गराएको स्रोतको दाबी छ । ओलीले बिदा लिने निर्णय गरेमा त्यसपछिको नेतृत्व आफू नै हुने भन्दै पोखरेलले नेताहरुलाई आफ्नो अनुकूलको वातावरण सिर्जना गराएको अर्काथरीको बुझाइ छ ।
उपाध्यक्ष विष्णु पौडेल निकट भनिएका केही नेताहरुलाई समेत महासचिव पोखरेलले आफ्नो समूहमा आउन संकेत गरेका छन् । ‘ओली कमरेडकै नेतृत्वमा पार्टी अघि जान्छ, यदि उहाँले बिदा लिने निर्णय गरिहाल्नुभयो भने म अघि बढ्न सक्छु’, पोखरेलको भनाई उद्धृत गर्दै एक नेता भन्छन्, ‘कतिपय कमरेडहरुलाई अहिले के के न भयो भन्ने छ, यो केही हैन, यो परिस्थितिलाई हामीले नै सामान्य बनाउने हो, पार्टी नेतृत्वको लागि जे गर्न पनि तयार हुनुपर्छ।’
टिप्पणीहरू