सरकारी बैठकमा पुगेपछि सुधनको पुनः विरोध

सरकारी बैठकमा पुगेपछि सुधनको पुनः विरोध

‘हामी नेपाल’ नामक गैरसरकारी संस्था (एनजिओ) का संस्थापक सुधन गुरुङ पछिल्ला केही दिनयता सरकारी बैठकहरूमा सक्रिय उपस्थितिका कारण विवादमा छन्। विपद् जोखिम न्यूनीकरण प्राधिकरणको बैठकमा डाटा माग्दै कर्मचारीलाई निर्देशन दिएपछि आलोचनाको सामना गरेका उनी उखु किसान आन्दोलनको बैठकमा समेत देखिएपछि चर्को विरोध भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा हिजो उखु किसान र सरकारबीचको वार्तामा सुधनको अनपेक्षित उपस्थितिले कर्मचारीहरू र सरोकारवालाबीच शंका पैदा भएको बताइन्छ । मन्त्री मदन परियार र मन्त्रालयका उच्च अधिकारीहरू उपस्थित रहेको उक्त बैठकमा सुधनले मन्त्रालयको बजेटलगायत विविध विषयबारे सोधखोज गरेका थिए ।

उनी न किसान, न सरकारी कर्मचारी । त्यसैले उनको उपस्थिति स्वाभाविक नरहेको भन्दै पूर्व प्रशासकहरू र सर्वसाधारणले तीव्र आलोचना गरेका छन् । मन्त्रालयका एक कर्मचारीले भने, “उहाँलाई कसले बोलाएको हो, अहिलेसम्म स्पष्ट छैन। तर गैरसरकारी व्यक्ति आएर बजेटबारे प्रश्न गर्नु अस्वाभाविक लाग्यो।”

यसअघि पनि सुधन असोज १८ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा सहभागी भएका थिए। त्यसबेला पनि उनीमाथि सरकारी बैठकमा हस्तक्षेप गरेको आरोप लगाएका थिए।

लगातार सरकारी बैठकहरूमा सुधनको उपस्थिति रहस्यमय बन्दै गएको छ। कतिपयले यसलाई ‘सरकारभित्रको गैरऔपचारिक शक्ति खेल’ भन्दै प्रश्न उठाइरहेका छन्। सामाजिक सञ्जालमा पनि उनको विरोध बढ्दै गएको छ। 

समिर ठकुन्नाले लेखेका छन्, “सुधन कुन हैसियतमा सरकारी बैठकहरूमा उपस्थित भइरहेका छन् ?” त्यस्तै, पेशाले नर्स लिला गिरीले भनिन्, “गैरसरकारी व्यक्ति सरकारले गर्ने संवेदनशील बैठकमा किन र कसरी सहभागी हुन्छ? यो रहस्यमय मात्र होइन, योजनाबद्ध कदम हो। सरकार तुरुन्तै कदम चालोस्।”

टिप्पणीहरू