अरुद्वारा पनि अध्यक्ष छाड्न आनाकानी

अरुद्वारा पनि अध्यक्ष छाड्न आनाकानी

भदौ २३ गतेको जेन जी प्रदर्शन र २४ गतेको विध्वंशपछि मुलुकको राजनीतिक र आर्थिक परिवेश एकाएक संवेदनशील मोडमा पुगेको छ । अन्तरिम सरकार गठन भएको एक महिना पुगेको छ । विशेषगरी ठूला राजनीतिक दलभित्र नेतृत्व पुनर्गठनको प्रयास ठप्प बनेको छ । वरिष्ठ नेताहरू सहमतिमा आउन नसक्दा दोस्रो र तेस्रो तहका नेताहरू निराश बन्दै गएका छन् ।

२०४६ सालको जनआन्दोलन अन्तिमतिर पुग्दा अन्तर्राष्ट्रिय दबाबको अगाडि राजा वीरेन्द्रले आफ्नै मुलुकभित्रका दल र जनतासँग झुक्नु ठीक भनेको सन्दर्भ उठाउँदै आएका नेताहरु नै अहिले उल्टो दिशामा हिँडेपछि परिस्थिति थप पेचिलो बनेको बताइन्छ । राजा वीरेन्द्रले ऊ बेला बहुदलको पक्षमा सम्झौता गरेझैँ,अहिले पनि पार्टीभित्र कार्यवाहक व्यवस्था गरेर “भित्रै सम्झौता र पुनर्गठन गरौँ” भन्ने प्रस्ताव राखिए पनि नेपाली काँग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी कतैबाट सकारात्मक सन्देश नआएपछि नेता तथा कार्यकर्ता निराश भएका छन् ।

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा दोस्रो तहका एक नेता भन्छन् ‘यस्तो माहौलमा प्रचण्ड र माधवको अनुहार लिएर आगामी चुनावमा जान सकिँदैन । उनीहरू पछाडि हट्ने मनस्थितिमा पनि छैनन् । यसबाट हाम्रो आन्दोलन सकिने भयो ।’ 

ठूला पार्टीभित्र दोस्रो तथा तेस्रो तहका नेताहरूले शीर्ष नेताहरूको कुर्सीप्रतिको मोह र डरले नै संगठनलाई निष्क्रिय बनाएको आरोप छ । उनीहरूको बुझाइमा,एमाले अध्यक्ष ओलीको पद नछाड्ने मानसिकता अन्य दलमा पनि उस्तै देखिएको छ ।

स्रोतहरूका अनुसार, ‘यही पाराले ठूला पार्टीहरु अगाडि बढ्न सक्दैनन् । कुर्सीमा बस्नेले सास नजाउञ्जेल त्यो कुर्सी छाड्न नपरोस् भन्ने चाहेको देखिन्छ । अहिले नेताहरू लुकेर हिँड्न परेको अवस्था छ, तर यस्ता प्रश्नको उत्तर उनीहरुसँगै छैन ।’ जेन जीको प्रदर्शन, विध्वंश र अन्तरिम सरकारको एक महिने प्रस्तुतिले नेता तथा कार्यकर्ताको निराशालाई झन् मलजल गरिदिएको छ ।

माओवादीसँग एकता हुन लागेको भन्ने चर्चाको समाजवादीकै अर्काथरीले विरोध गरेका छन् । उनीहरुका अनुसार एमाले तर्फबाट पनि एकताको पहल भएको देखिँदैन । एमालेमा दोस्रो तहका नेताहरू समाजवादीसँग एकता गरेर अघि बढ्न तयार भए पनि ओलीका सामुन्ने त्यसबारे आवाज उठाउन नसकिरहेको बताइन्छ । भन्छन्, ‘ओली अध्यक्ष रहुन्जेल त्यो सम्भावना छैन । आगामी मङ्ग्सिर अन्तिम साताको महाधिवेशनबाट नेतृत्व परिवर्तन भएको अवस्थामा त्यो हुनसक्छ ।’

टिप्पणीहरू