डा.अस्मितालाई दबाबमा नियुक्त नगरिएको दावी

डा.अस्मितालाई दबाबमा नियुक्त नगरिएको दावी

नेपाल वायुसेवा निगमले डा.अस्मिता अर्याललाई कसैको दबाब र प्रभावमा नियुक्त नगरिएको प्रष्टीकरण दिएको छ । मुख्यसचिव एकनारायण अर्यालकी छोरीसमेत रहेकी उनलाई पहुँचको आधारमा नियुक्ति दिलाएको भन्दै आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै निगमले स्पष्ट पारेको हो । 

उनलाई अन्य डाक्टरसरह मासिक दश हजार रुपैयाँ तलबमा पेशागत विज्ञता, दक्षता र क्षमताका आधारमा नियुक्ति दिएको निगमको भनाइ छ । ‘डाक्टर अस्मिता अर्याललाई कसैको दबाब र प्रभावमा नभई सामान्य रुपमा अन्य डाक्टरहरुसरह नै पेशागत विज्ञता, दक्षता र क्षमताका आधारमा सेवामा लिइएको र निगमको उल्लेखित शर्तबमोजिम नै प्रतिमहिना रु. १० हजार मात्र तलबबापत प्रदान गर्ने गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ । 

निगमले स्थापनाकालदेखि नै कर्मचारी कल्याणकारी परियोजनाअन्तर्गत आफ्ना कर्मचारी, तिनका परिवार तथा पाइलट, इन्जिनियर र क्याबिन क्रूलगायत प्राविधिक जनशक्तिको अनिवार्य नियमित स्वास्थ्य परीक्षणका निम्ति क्लिनिक सञ्चालन गर्दै आएको छ । 

सो क्लिनिकमा निगमद्धारा नियुक्त गरिएका नौ जना डाक्टरले हप्तामा तीन दिन आआफ्नो पालोमा कर्मचारीलाई निःशुल्क परामर्श सेवा दिने र त्यसबापत निगमले उनीहरुलाई मासिक दश हजार रुपैयाँ उपलब्ध गराउने गरेको विज्ञप्तिमा जनाइएको छ ।

टिप्पणीहरू