भिन्न दलका फरक धारणा

भिन्न दलका फरक धारणा

विघटित प्रतिनिधिसभा पुनःस्थापनाबारे छलफल गर्न सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा राजनीतिक दलहरूले भने खास चासो देखाएनन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरूले संसद पुनःस्थापनाको औचित्य नदेखाउँदै अब चुनावी वातावरण बनाउनुपर्ने मत राखेका छन् ।

सभामुखको कार्यकक्षमा बसेको उक्त बैठकमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौला, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलगायतका नेताहरू सहभागी थिए ।

बैठकमा सभामुख घिमिरेले फागुनमा चुनाव हुने सम्भावना कम देखिएको विश्लेषण सुनाउँदै नेताहरूलाई “अब कसरी अघि बढ्ने ?” भन्ने विषयमा सुझाव मागेका थिए । उनका अनुसार दलहरूले संसद पुनःस्थापनाको दिशामा कदम चाल्नुपर्ने संकेतसमेत गरेका थिए ।

तर कांग्रेस सचेतक श्याम घिमिरे र माओवादी सचेतक हितराज पाण्डेले सभामुखको प्रस्ताव अस्वीकार गर्दै सिधै चुनाव स्वीकार गर्नुबाहेक विकल्प नभएको स्पष्ट पारेका थिए । उनीहरूका अनुसार संसद पुनःस्थापनाको प्रयासले जेनजी पुस्तालाई उत्तेजित पार्न सक्छ, त्यसैले आगामी चुनावलाई नै अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् ।

त्यस्तै, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पनि चुनावमा सक्रिय सहभागिता जनाउने अडान व्यक्त गरेका छन् । उनले सभामुखसँगको आफ्नो धारणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै भनेका छन् — “चुनावपछिको संसदले संविधान संशोधन गरेर प्रदेश खारेजी र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था सुनिश्चित गर्नु राप्रपाको बटमलाइन हो।”

टिप्पणीहरू