टी-२० विश्वकप छनोटमा ओमानलाई हराउँदै नेपाल उपाधि नजिक

टी-२० विश्वकप छनोटमा ओमानलाई हराउँदै नेपाल उपाधि नजिक

आईसीसी टी–२० विश्वकप एसिया तथा इष्ट एसिया प्यासिफिक छनोट अन्तर्गत भएको सुपर सिक्सको खेलमा नेपालले ओमानलाई हराएको छ । बुधबार राति सम्पन्न खेलमा  ओमानलाई ३८ रनले पराजित गर्दै नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

जितको लागि १ सय ५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा नौ विकेट गुमाएर १ सय १३ रनमात्र बनायो । ओमानका लागि विनायक शुम्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाए । यस्तै, मोहम्मद नदीमले २५ रन बनाए । 
नेपालका लागि गुल्शन झाले तीन विकेट लिँदा नन्दन यादव र सोमपाल कामीले समान दुईरदुई विकेट लिए ।  सन्दीप लामिछानेले एक विकेट लिए ।

यसअघि ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ५१ बलमा सात चौका र एक छक्कासहित सर्वाधिक ६९ रनको योगदान दिए । आसिफ शेखले २० बलमा दुई चौका र एक छक्कासहित २४ रनको योगदान गरे । गुल्शन झाले दुई छक्कासहित १८ रन जोडे भने आदिल आलमले १६ रन बनाए । 

ओमानका लागि नदीम खानले चार विकेट लिए भने शुफिया मेहमुद र जितेन रामानन्दीले समान दुईरदुई विकेट लिए । यसअघि नै टी–२० विश्वकपमा स्थान बनाइसकेको नेपाल आठ अङ्क बटुल्दै उपाधि नजिक पुगेको छ । दोस्रो स्थानमा रहेको ओमानको चार खेलबाट छ अङ्क रहेको छ ।

अब नेपालले शुक्रबार सुपर सिक्सको अन्तिम खेल सामोआसँग खेल्नेछ ।

टिप्पणीहरू