‘सहकारी ठगहरुलाई कुनै हालतमा छाडिँदैन’

‘सहकारी ठगहरुलाई कुनै हालतमा छाडिँदैन’

प्रधानमन्त्री सुशीला कार्कीले सहकारी ठगहरुलाई कुनै पनि हालतमा नछाड्ने बताएकी छन् । आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री अलिनकुमार सिन्हा, मन्त्रालयका सचिव केदारनाथ शर्मा र अन्य कर्मचारीसँग छलफल गर्दै उनले सहकारी ठगहरुलाई कारवाही गर्न कुनै कानुनी बाधा भए संशोधन गरेर भए पनि कारबाही गर्नुपर्ने बताएकी हुन् ।

सहकारीको पैसा खाएर कतिपय व्यक्तिहरु अहिले खुलेआम हिँडिरहेको बताउँदै कार्कीले उनीहरुलाई तत्काल कारबाहीको दायरमा ल्याउन निर्देशन दिएको बैठकमा सहभागी एक कर्मचारीले बताए । ‘सहकारीका पैसा खाएर हिँड्नेहरुलाई कुनै पनि हालतमा छाड्नु हुँदैन, यिनीहरु सुनका घडी लगाउँछन्, महंगा गाडी चढेर हिँडेका छन्, नक्क्ली डिभोर्स गराएर बसेका छन्’, उनले भनिन्, ‘के गर्नुपर्छ गरौँ, तर ठगेर हिँड्नेहरुलाई कुनै पनि हालतमा नछाडौँ, विचरा पीडितहरुलाई रुँदै हिँड्नुपर्ने अवस्थाको अन्त्य गरौँ ।’

सहकारी ठगहरुलाई अहिलेको सरकारले कारबाही नगरे कुनै पनि सरकारले कारबाही गर्न नसक्ने पनि प्रधानमन्त्री कार्कीको ठहर छ । ‘यो काम अहिले नै गर्नुपर्छ, हामीले नै गर्ने हो, हामीले नगरे कसले गर्ने ? हामीले गर्न सकेनौं भने कुनै पनि सरकारले सक्दैन’, उनले सुनाइन् । 

पूर्व प्रधानन्यायाधीश समेत रहेकी कार्कीले सहकारी ठगहरुको घरजग्गा लिलाम गरेर भए पनि पीडितको रकम फिर्ता गर्नुपर्नेमा पनि जोड दिइन् । अघि थपिन्, ‘ठगहरु चाहिँ सुकिलो मुकिलो भएर हिँड्ने, पीडितहरु चाहिँ सडकमा रोएर हिँड्ने ? त्यस्ता ठगहरुको सम्पत्ति लिलाम गरेर भए पनि पीडितको पैसा फिर्ता गर्नुपर्छ ।’

टिप्पणीहरू