जेलबाट भागेका १२२ कैदी राजधानीमा पक्राउ
गत भदौ २४ गते जेन जी विध्वंशका क्रममा रवि लामिछाने नख्खु जेलबाट निस्केपछि विभिन्न कारागारका कैदीहरु भाग्ने क्रम शुरु भएको थियो । सोही मौकामा भागेका एक सय २२ फरार कैदीलाई नेपाल प्रहरीले काठमाडौँबाट नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाका अनुसार पक्राउ परेका फरार कैदीमध्ये चोरी मुद्दामा ३५, बहुविवाहका तीन, जबर्जस्ती करणीका १७ र कर्तव्य ज्यानका तीन जना हुन् । त्यस्तै लागुऔषध सम्बन्धी अपराधका ३०, बैंकिङ कसुरका तीन, ज्यान मार्ने उद्योगका १२ जनालाई पनि समातिएको छ ।
प्रहरीका अनुसार सङ्गठित अपराध, डाँकाचोरी, सवारी ज्यानका क्रमशः तीन तीन जना, अन्य ज्यानसम्बन्धी कसुरका छ जना, मानव बेचबिखनका एक जना र अन्य अन्य मुद्दाका तीन जनालाई पुनः जेल पठाइएको छ । पक्राउ परेकामध्ये ११२ पुरुष र १० महिला हुन् ।
टिप्पणीहरू