निगमद्वारा ५३ करोडकाे ऋण किस्ता भुक्तानी
नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको ऋण भुक्तानी वापत आज अर्को किस्ता रकम भुक्तानी गरेको छ। कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिइएको ऋणमा दुई न्यारोबडी जहाजको पूर्ण भुक्तानी र दुई वाइडबडी जहाजको आंशिक भुक्तानी गरेर ५३ करोड नौ लाख ५५ हजार २८१ रुपैयाँ आज भुक्तानी गरिएको निगमले जनाएको छ ।
निगमको वर्तमान उच्च व्यवस्थापनले जिम्मेवारी वहन गरेपछि जहाज खरिद सम्बन्धी कुल ऋण भुक्तानीमा आजसम्म कुल आठ अर्ब ४५ करोड २४ लाख १८ हजार ६५७ तिरिएको जनाएको छ ।
विश्वव्यापी कोभिड–१९ महामारीका कारण हवाई व्यापारमा प्रतिकूल असर परेकाले, निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग ऋणको ब्याज, हर्जाना र पेनलमा छुटको माग गर्दै किस्ताको संख्या वृद्धि गरी भुक्तानीलाई सहज बनाउन अनुरोध गरेको छ । प्रवक्ता मनोज कुमार साहले सम्बन्धित निकाय र नेपाल सरकारबाट आवश्यक सहयोग र सहजीकरणमा सकारात्मक छलफल भइरहेको बताएका छन् ।
टिप्पणीहरू